तीन गाउँले थकाली सेवा समाज नेपालको दोस्रो तला भवन उद्घाटन

-


     पोखरा क्लिक     
     वैशाख ८ गते २०८२ मा प्रकाशित



पोखरा ।

पोखरा–७, घारीपाटनस्थित तीन गाउँले थकाली सेवा समाज नेपालको नवनिर्मित दोस्रो तला भवनको उद्घाटन गरिएको छ । सो अवसरमा भीमकुमारी थकालीको स्मृतिमा निर्मित कक्ष समेत उद्घाटन गरिएकाे हाे ।


रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ४, एयरपोर्ट निवासी शक्तिप्रसाद थकालीले आफ्नी धर्मपत्नी स्व. भीमकुमारीको स्मृतिमा भवन निर्माणमा १९ लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए ।
आइतबार आयोजित समारोहमा प्रमुख अतिथि उनै शक्तिप्रसादसहित पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसमेतले भवन तथा कक्षको उद्घाटन गरेका हुन् ।
भवनको दोस्रो तला निर्माणको जिम्मा तीन गाउँले थकाली सेवा समाजका सदस्य विक्रम थकालीलाई दिइएको थियो । भवन निर्माणपछि आगामी दिनमा यहाँ विविध कार्यक्रम गर्न सहज हुने अपेक्षा गरिएको छ ।
भीमकुमारी सहारा क्लब पोखराका पूर्व अध्यक्षसमेत रहेका भवन निर्माण संयोजक विक्रम थकालीका फुपू हुन् । फुपूको नाममा भवन निर्माण गर्ने प्रस्तावको सहजैरुपमा शक्तिप्रसाद थकालीले स्वीकारेका थिए । व्यवसायीसमेत रहेका शक्तिप्रसादले भवनको आगामी दिनमा पनि संरक्षण र सम्बद्र्धन गर्दै जान सुझाव दिए ।
पोखरा ७ का वडाध्यक्ष आचार्यले यो भवन अब वडाको पनि सम्पत्ति भएकाले आगामी दिनमा रङरोगन एवं संरक्षणमा सहयोग गर्ने वचन दिए ।
पोखरा ९ का वडाध्यक्ष मर्सानीले भवनका निम्ति १ लाख रुपैयाँ दिने घोषणा गरे ।
मुस्ताङको घरपझोङ गाउँपालिकाका पूर्व अध्यक्ष आशबहादुर थकालीले तीनगाउँलेको पहिचान भनेको समाजघर हो भने ।
समाजका निवर्तमान अध्यक्ष गणेश थकालीले २०५१ सालमा पोखरा समाजघर स्थापना भएको जानकारी दिए ।
भवन निर्माण समिति संयोजक विक्रम थकालीले निर्माणमा १९ लाख ३७ हजार खर्च भएकोमा १२ हजार बचत भएको आर्थिक विवरण सार्वजनिक गरे । स्व.फुपूप्रति श्रद्धासुमन व्यक्त गर्दै उनले भवन निर्माणमा ठूलो रकम सहयोग गर्ने आफ्ना भिनाजुसहित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरे ।
समाजका अध्यक्ष कमलप्रसाद थकालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण थकाली र संचालन सचिव आशबहादुर थकालीले गरेका थिए ।
सो अवसरमा भवन निर्माणका दाता शक्तिप्रसाद थकाली, भवन निर्माण संयोजक विक्रम थकालीसमेतलाई सम्मान गरिएको थियो ।