उत्प्रेरणा साँगीतिक मञ्चमा बालबालिकाको प्रतिभा प्रस्फुटन

-


     पोखरा क्लिक     
     वैशाख ५ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराको रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टरले यहाँ उत्प्रेरणा साँगीतिक मञ्च २०८२ कार्यक्रम आयोजना गर्यो । बिद्यार्थीहरुको बिदाको समयको सदुपयोग गर्दै गीत तथा सङ्गीत सिकेका बाबुनानीलाई मञ्च प्रदान गर्नको लागि उक्त कार्यक्रमको आयोजना गरिएको सेन्टरका प्रबन्ध निर्देशक एवं गायक विनीत जोजिजूले बताउनु भयो ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा बिहीबार भएको कार्यक्रमले वार्षिक परीक्षा दिएपछिको खाली समयको सदुपयोग गरेका बालबालिकाहरूले गीतसङ्गीत र बाद्यवादन सम्बन्धी कला प्रतिभा प्रष्फुटन गरिएको उहाँले जनाउनु भयो ।

ग्लोबल कलेजियट स्कुलका संस्थापक प्राचार्य बाबुराम पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्राचार्य पन्तले शिक्षासंगै पढाईलाई पनि सँगसँगै लैजान सक्नेगरि जोजिजूमा सञ्चालन हुँदै आएको कक्षाहरूबारे चर्चा गर्नुभयो । यसप्रकारका प्रशिक्षणहरूले बालबालिकाहरूमा रहेको प्रतिभा पहिचानका साथमा नेतृत्व तथा व्यक्तित्व विकास गर्न सहयोग पुग्ने उहाँको भनाई थियो । बालबालिकाहरू स्वभावैले जिज्ञासु हुने भएकाले उनीहरूलाई नयाँ कुरा सिक्नका लागि अभिभावकले अवसर दिनुपर्ने पन्तले जनाउनु भयो ।

कार्यक्रममा जोजिजू म्युजिक सेन्टरका व्यवस्थापक सानु जोजिजूले बालबालिकालाई पनि भ्याकेसन प्याकेज क्लास सञ्चालन गर्नुपर्ने बताउनु भयो । भ्याकेसन प्याकेज क्लासमा एक सय जनासम्म बालबालिकाहरूलाई प्रशिक्षण गर्दै आइरहेको उहाँले जनाउनुभयो । जोजिजूमा यस्तो सङ्गीत कक्षा सुरु भएको ८ वर्ष पुगेको व्यवस्थापक सानु जोजिजूले बताउनु भयो ।

जोजिजूको भ्याकेसन प्याकेज क्लासमा बालबालिकाहरूलाई भाषणकला, नृत्य, सङ्गीत तथा वाद्यवादन, फाइन आर्ट तथा अन्तरवार्ता लगायत विषयमा प्रशिक्षण दिने गरिन्छ । जोजिजू म्युजिक सेन्टर बालबालिकाहरूमा रहेको प्रतिभा पहिचानसँगै सङ्गीतको क्षेत्रमा निरन्तर सक्रिय बनिरहेको छ ।

कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक विनीत जोजिजूले नयाँ प्रतिभालाई सजिलो होस् भन्ने उद्देश्यले २०६० सालमा जोजिजू म्युजिक सेन्टर तथा म्यूजिक स्कूल स्थापना गरी नवप्रतिभालाई अघि बढ्न हौसला प्रदान गरिरहेको बताउनुयभो । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल सहित गीत तथा सङ्गीतकर्मीको सहभागिता रहेको थियो ।