प्रभावकारी सेवा प्रवाहमा लाग्न प्रमुख सचिव विष्टको आग्रह

-


     पोखरा क्लिक     
     चैत्र २९ गते २०८१ मा प्रकाशित


पोखरा २९, चैत,

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, गण्डकी प्रदेशका प्रमुख सचिब रघुराम बिष्टले प्रभावकारी सेवा प्रवाहमा लाग्न कर्मचारीलाई आग्रह गर्नू भएको छ । नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन जिल्ला समिति, कास्कीले नव वर्ष २०८२ सालको अवसरमा प्रकाशित सूचनामुलक टेबल क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै उहाँले कर्मचारीलाई प्रभावकारी रुपमा सेवा प्रवाहमा लाग्न आग्रह गर्नु भएको हो ।

प्रमुख सचिव बिष्टले नेपाल सरकार प्रदेश सरकार र स्थानीय तह तिनै तहमा कार्यरत निजामती कर्मचारीहरू रहने यस जिल्ला संगठनले आफ्नो सृजनशीलता र रचनात्मकता क्यालेन्डर निर्माणबाट पनि देखाएको उल्लेख गर्नुभयो । ट्रेड युनियनहरू सामूहिक शौदाबाजीको लागि स्थापित भएको भएपनि आफूमा सृजनशीलता र रचनात्मकता बिकासलाई जोड दिँदै प्रभावकारी सेवा प्रवाहमा लाग्नुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो।

संगठनका जिल्ला अध्यक्ष एवं क्यालेन्डर प्रकाशन समितिका निर्देशक गोविन्दप्रसाद रिजालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला समितिका सचिव डा.अविनाश भट्टराई, स्वागत मन्तव्य संगठनका उपाध्यक्ष प्रकाश बस्नेतले राख्नुभएको थियो।
क्यालेण्डर विमोचनको सन्दर्भमा संगठनका कोषाध्यक्ष एवं क्यालेन्डर प्रकाशन समितिका संयोजक रविमोहन पौडेलले क्यालेन्डरका विविध विशेषताहरूका बारेमा बोल्दै क्यालेन्डर जानकारीमूलक रहनुका साथै युजर फ्रेन्डली रहेको बताउनुभयो । प्रदेश सरकारले पछिल्लो समय घोषणा गरेका चारवटा सार्वजनिक विदाहरू पनि समावेश गरी संगठनले सूचनामूलक टेबल क्यालेण्डर निर्माण गरेको हो। राष्ट्रिय पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत क्यालेण्डरका आधारमा तयार गरिएको क्यालेण्डरमा जानकारीमूलक र नागरिक मैत्री सेवा प्रवाह गर्न सेवाग्राही र कर्मचारीहरूलाई अनुरोध गरिएका विषयवस्तुहरू समेत समावेश रहेका छन्। क्यालेण्डरमा महत्त्वपूर्ण विषय जानकारी घटना हरु टिपोटगर्ने स्थान समेत राखिएको छ । रङ्गहरूको संयोजन, तस्बिरहरूको डिस्प्ले, संगठनले सञ्चालन गरेका गतिविधिहरूको जानकारीका साथै संगठनले नव वर्ष २०८२ मा सञ्चालन गर्ने आफ्ना गतिविधिहरूलाई पनि क्यालेण्डरमा समावेश गरेर कार्ययोजना समेत समावेश गरेको बताउनुभयो । सुशासन प्रवर्धन र आर्थिक अनुशासन प्रवर्धनको लागि सूचनामूलक सामग्रीहरूलाई विज्ञापनको रुपमा प्राथमिककरण गरी प्रकाशन गरिएको जानकारी संयोजकले दिनुभएको थियो।

कार्यक्रमका अध्यक्ष रिजालले कर्मचारी संगठनहरू पेशागत हक हितका विषयहरूलाई प्रमुख प्राथमिकतामा राख्दै आफूमा सृजनशीलता विकास गर्नुपर्ने धारणा राख्नुभयो।