पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तर बिद्यालय स्तरिय व्याण्डमिन्टन प्रतियोगिता सुरु, बिल बहादुरको शालिक अनावरण

-


     पोखरा क्लिक     
     चैत्र २७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २७, चैत,

पोखरामा प्रथम बिल बहादुर मेमोरियल अन्तरबिद्यालय स्तरिय व्याडमिन्टन प्रतियोगिता २०८१ सुरु भएको छ । बिल्स फाउण्डेसनको आयोजनामा फिट नेपाल स्पोट्र्स प्लेक्सको नयाँ कभर्ड हलमा उक्त प्रतियोगिता आज (बुधबार) देखि सुरु भएको हो ।

यही चैत ३० गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले दिप प्रज्वलन गर्दै गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले बिल्स फाउण्डेसनले खेलकुदको क्षेत्रमा नयाँ कार्यप्ररम्भ गरेकोमा प्रशंसा गर्दै ओलम्पिकसम्मको यात्रामा खेलाडीहरुलाई लैजाने सपना पूरा गर्न राज्यले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा समाजसेवी स्व.बिल बहादुर गुरुङको शालिक समेत अनावरण गरिएको छ । उक्त प्लेक्समा उहाँको अर्धकदको शालिक राखिएको छ ।

समाजसेवी स्व.बिल बहादुर गुरुङका धर्मपत्नी हरसुब्बा गुरुङको अध्यक्षतामा कार्यक्रम भएको हो । बुधबारको खेलमा १६ बर्ष मुनिका खेलाडीहरु सहभागि छात्रा तर्फको खेलमा सुजिका श्रेष्ठले समृद्धि केसीलाई पराजित गरिन् । त्यसै गरी बुधबार १९ बर्ष मुनिका सहभागि छात्र तर्फको खेलमा साइमोन कार्की, कुशल श्रेष्ठ, अबिराज शेरचन, हिमाल श्री, भुवन अधिकारी, पृथक गुरुङ, सुमित सुनार र विभस पुनले जित हासिल गर्नुभयो । विहिबार पहिलो चरणका खेलहरु हुने भएको छ ।

मोहन भूगोल फाउण्डेसनको व्यबस्थापनमा ३ वटा विधामा छात्र तथा छात्रा तर्फको प्रतिष्प्रर्धा हुदैछ । प्रतियोगितामा करिब १ सय ५० जना खेलाडीहरु सहभागि हुदै गरेकोे प्रतियोगिताका संयोजक भूगोल गुरुङले बताउनु भयो । व्याडमिन्टन खेलको तल्लोतह (ग्रासरुट) बाटै विकास गराउदै पोखरालाई खेल पर्यटनको केन्द्र बनाउने अभियानमा थप टेवा पुग्ने विश्वासका साथ यस बर्षदेखि आफुहरुले कास्की जिल्ला तथा प्रदेश स्तरिय प्रतियोगिता आयोजना गरिएको उहाँले जनाउनु भयो । खेलाडीहरुको प्रतिभा प्रष्फुटनको अन्तिम बिन्दु ओलम्पिकसम्म पुर्याउने महत्वकाक्षी योजनाका साथ आफुहरुले व्याडमिन्टन खेलको बृद्धि बिकासको लागि नेपालमै अत्याधुनिक सुविधा सम्पन्न प्रथम स्पोट्र्स कम्प्लेक्स संचालन गरेको संयोजक गुरुङको दाबी छ ।

१६ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१६) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेतालाई २० हजार, उपविजेतालाई १० हजार र तेश्रो हुने दुई जनालाई जनही ५÷५ हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यसै गरी १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यू—१९) एकल छात्र तथा छात्रा तर्फको इभेण्टमा बिजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेश्रो हुने दुई जनालाई जनही १०÷१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने भएको छ । त्यस्तै बी लेवलको गण्डकी खुल्ला डवल तर्फको इभेण्टमा विजेताले ३० हजार, उपविजेताले २० हजार र तेश्रो हुनेले जनही १०÷१० हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । यू—१६ को जिल्ला स्तरिय हुने छ भने अन्य दुई इभेण्ट गण्डकी प्रदेश स्तरिय हुने फाउण्डेसनका सचिव बरदान लामाले पोखराक्लिकलाई बताउनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च लाग्ने आयोजकले जनाएको छ । फिट नेपालले विगत ४ बर्ष देखि खेलाडी उत्पादनमा जोड दिदै आउने क्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी निभा राई, दिलाषा राना लगायतका खेलाडी उत्पादन गर्न सफल भएको दाबी गरेको छ । बौद्ध अघौं सदनका परिकल्पनाकार, संस्थापक सचिव एवं पूर्व अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका पूर्व अध्यक्ष, धम्भ पोखरा विपासना शिविरका संस्थापक अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व संचालक, हिमालयन पेट्रोलपम्पका संस्थापक सचिव, शान्ति संगम आयल स्टोर्स मुग्लिङका संचालक, गण्डकी धौलागिरी क्षेत्र मा २०२९ सालमा पहिलो पेट्रोलपम्प (हिमालय पेट्रोलियम क.प्रा.लि.) स्थापन गर्नु भएसंगै विभिन्न संघ संस्थामा आबद्ध हुनु भएको पोखरा क्षेत्रका एक समाजसेवी बिल बहादुर गुरुङको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । पोखरा बुद्धचोक निबासि ९१ बर्षीय गुरुङको काठमाण्डांैंमा उपचारकै क्रममा गत बर्ष (२०८०) चैत २७ गते निधन भएको थियो ।

स्व.बिल बहादुरका छोरा सुनिल गुरुङले बाबुले समाजमा केही गर्नुपर्छ भन्दै धेरै सामाजिक संघ संस्थामा पुर्याएको योगदानलाई आफुहरुले निरन्तरता दिन खोजेको बताउनु भयो । नेपालकै पहिलो तेक्वान्दोका कर्तिमानी ९ डान प्राप्त गर्नु भएको तुल्सी गुरुङले खेलाडी उत्पादन गर्न कम्तिमा १० देखि १५ बर्षको बृहत कार्ययोजना अनुसार अघि बढे मात्र ओलम्पिकसम्मको यात्रा तय गर्न सकिने दाबी गर्नु भयो । फिट नेपालले प्रतिभावान खेलाडीहरुलाई छात्राबृत्ति स्वरुप प्रोत्साहन हुने कार्यक्रम समेत ल्याउने जनाउनु भयो । आफ्नो अभियानलाई सबैले साथ र सहयोग गर्न गुरुङले आव्हान गर्नुभयो ।