
दीननाथ बराल,
पोखरा २७, चैत,
पोखराका होटल प्रतिनिधिहरुलाई डिजिटल मार्केटिङ्ग तथा पर्यटक सेवा अभिवृद्धि तालिम प्रदान गरिएको छ । होटल प्रतिनिधि समाज, पोखराको आयोजनामा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रबद्र्धनमा पोखरामा दुई दिने उक्त तालिम होटलका प्रतिनिधिहरुलाई प्रदान गरिएको समाजका अध्यक्ष माधव लम्सालले बताउनु भयो ।

पोखरामा आउने पर्यटकहरुलाई सहजरुपमा गन्तव्यसम्म जानको लागि आवश्यक समन्वय गर्दै आउनु भएको होटल प्रतिनिधिहरुलाई थप प्रभावकारी बनाउन उक्त तालिम प्रदान गरिएको उहाँले बताउनु भयो । उक्त तालिममा ६० जनाको सहभागिता रहेको अध्यक्ष लम्सालले पोखराक्लिकलाई जनाउनु भयो ।
साईबर क्राईम निवारण, डिजिटल मार्केटिङ, वैकिङ्ग कसुर तथा ठगी सम्बन्धी लगायतका बिषयमा ) प्राध्यापक दिपेन्द्र पहारी, जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी (डिएसपी) बशन्त कुमार शर्मा, सिटिईभिटि पोखराका प्रविधिक दिनेश श्रेष्ठ लगायतले सहजीकरण गर्नु भएको समाजका महासचिव शिव पौडेलले बताउनु भयो ।
तालिम समापन समारोहमा बुधबार प्रमाण पत्र वितरण गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा काम गर्ने कुनै पनि संघ संस्थालाई बोर्डले सकेको सहयोग गर्ने बताउदै आगन्तुक पाहुनालाई राम्रो र मिठो वोली वचनका साथ स्वागत सत्कार गर्न सुझाव दिनुभयो । पर्यटनको राजधानी पोखराको पर्यटन प्रबद्र्धन गर्न चिनको छेन्दु देखि पोखरा हाल सिचुवान एअरलाइन्सले सुरु गरेको व्यावसायीक चार्टर्ड उडानले पोखराको पर्यटन प्रबद्र्धनमा कोषेढुंगा सावित भएको बताउनु भयो । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले यही चैत ३० देखि पोखरामा नयाँ बर्षको अवसरमा फेवा महोत्सव हुने गरी अन्तिम तयारी गरेको बताउदै पोखरामा हुने मेला महोत्सवले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समाजका बरिष्ठ उपाध्यक्ष जीवराज उपाध्याय, निवर्तमान बरिष्ठ उपाध्यक्ष सन्तोस काफ्लेले लगायतले बोल्नु भएको थियो । पर्यटन बोर्डले समाजलाई पहिलो पटक यसरी प्रबद्र्धन गरेकोमा धन्यवाद दिदै समाजका अध्यक्ष लम्सालले पोखराको पर्यटन प्रबद्र्धनमा आगामी दिनमा हुने कार्यक्रममा समेत बोर्डको साथ र सहयोगको अपेक्षा गर्नुभयो ।
यसैबिच, मंगलबार देखि सुरु भएको कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष भिम पराजुली, नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहाल लगायतको सहभागिता रहेको थियो ।






