
दीननाथ बराल,
पोखरा २२, चैत,
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा पोखरा सभागृहमा शनिबार वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ सम्पन्न भएको छ । उक्त साँझमा पुरुषोत्तमका करिब १८ गीत प्रस्तुत भए भने सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

सांगीतिक साँझमा प्रवेश निःशुल्क रहेको प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले बताउनु भयो । पुरुषोत्तमका सरर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैन जस्ता धेरै गीत चर्चित छन् । २०२९ सालमा स्याङजामा जन्मिनु भएको न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो ईतिहास कोर्न सफल हुनु भएको छ ।

झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानका करिब हजार भन्दा बढी गीतहरु रेकर्डिङ छन् । पुरुषोत्तमले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गर्नु भएको हो ।स्वदेशका प्रायः सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसक्नु भएको छ । उहाँले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पार्नु भएको हो । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेको न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत हुनु हुन्छ । कर्मथलो पोखरा र जन्मघर स्याङ्जा भएकाले पनि सांगीतीक साँझ पोखरामा गर्न लागिएको गायक पुरुषोत्तमले प्रष्ट पार्नू भयो । जन्मघरबाट आउन पायक हुने र सम्बन्ध अल्ली बढी भएकाले पोखरा रोजिएको उहाँको भनाई थियो ।
अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ अघि बढेको प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार उक्त कार्यक्रम गरिएको प्रतिष्ठानकी अध्यक्ष मगरले पोखराक्लिकलाई बताउनु भयो ।
लोक सङ्गीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ । अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरिय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति रहेको प्रतिष्ठानले जनाएको छ ।
यसैबिच, उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले समाज परिवर्तनमा गित संगित शक्तिशालि हुने बताउनु भयो । गण्डकी प्रदेश लोक संस्कृति र लोक साहित्यको क्षेत्रमा धेरै सम्भावना रहेको मन्त्री गुरुङले दाबी गर्नुभयो । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहनु भएको मन्त्री गुरुङले प्रदेशको लोक संस्कृति र लोक साहित्यको बृद्धि विकास गर्न सुरु देखि प्रदेश सरकारले रचनात्मक कार्यक्रम गर्दै आएको जनाउनु भयो ।
गण्डकी प्रदेशका प्रसिद्ध एवं प्रखर गायक न्यौपाने भएको हुनाले शुभकामना दिन कार्यक्रममा उपस्थित भएको उहाँले बताउनु भयो । मन्त्री गुरुङले गण्डकी प्रदेश लोक गित तथा संगितको उर्वर भूमि भएको जनाउनु भयो । नेपाली जनता स्वतन्त्र रुपमा रम्न पाउने यो अधिकार संघिय लोकतान्त्रिक गणतन्त्रले ल्याएको मन्त्री गुरुङले बताउनु भयो । गणतन्त्रको विकल्प अन्य कुनै अबस्था नहुने उहाँको भनाई थियो । कार्यक्रममा पोखराका मेयर धनराज आचार्य लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई सफल पार्न हालसम्म २५ लाख रुपैया संकलन भए पनि कार्यक्रम सम्पन्न गर्न करिब २० लाख खर्च हुने अध्यक्ष थापाले बताउनु भयो । बचत ५ लाख मध्य ६० प्रतिशत प्रतिष्ठानमा र ४० प्रतिशत श्रष्ठालाई उपलब्ध गराइने भएको उहाँले जनाउनु भयो । मानव सेवा फाउण्डेसनका संस्थापक अध्यक्ष एवं धर्मगुरु विजय कृष्णमुर्तिले उक्त कार्यक्रमलाई सफल पार्न ५१ हजार सहयोग गर्नु भएको छ । कार्यक्रममा कलाकार देखि पोखरेली दर्शकहरुको उल्लेखनिय रुपमा सहभागिता रहेको थियो ।