फेवातालको किनारामा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा हुदै, सरोकार पक्ष मौन

-


     पोखरा क्लिक     
     चैत्र २१ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २१, चैत,

पोखरा फेवातालको किनारमा मापदण्ड विपरितका भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ । रामसारमा सुचिकृत भएको विश्वकै ऐतिहासिक तथा पर्यटकीय स्थल फेवातालमा हाल अनुमति विना संरचनाहरु बन्ने क्रम हाल तिव्र गतिमा अघि बढेको स्थानियले गुनासो गर्नु भएको छ । विभिन्न व्यवसाय तथा घर एवं भवन बनाउने उद्धेश्यले केही व्यक्तिहरुले फेवातालको किनार छेउमा २ मिटर देखि ३० मिटिर भित्रै भौतिक संरचना निर्माण गर्न लागेको स्थानिय धुर्व थापाले बताउनु भयो ।

पोखराको सेदीमा २ वटा घर तथा भवन निर्माण कार्य हाल जारी रहेको छ भने पखौदीमा अर्को घर तथा टहरा निर्माण हुदै गरको स्थानियले पोखराक्लिक समक्ष गुनासो गर्नुभयो । पोखरा महानगरपालिकाको टोलीले उक्त घर तथा भवन एवं टहरा मापदण्ड विपरित निर्माण हुन लागेकोमा पटक पटक चेतावनी दिदै मजदुरका सामानहरु जफत समेत गर्दै आएको छ ।

पोखराको फेवातालमा मापदण्ड विपरितका भौतिक संरचना बनाउन लागेको दिन देखि आफुहरुको टोलीले निर्गानी गर्दै आउदा हटेरी गरी भौतिक संरचना निर्माण गरेको पोखरा महानगरपालिकाका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले बताउनु भयो । मेयरको आदेश आएको खण्डमा उक्त भौतिक संरचनाहरु भत्काउन पनि आफुहरु पछि नपर्ने उहाँको भनाई थियो । केही समय अघि देखि आफुहरुको टोलीले भौतिक संरचना निर्माण नगर्न चेतावनी दिदै सामानहरु समेत जफत गर्दै आए पनि अटेरी गर्ने गरेको नगर प्रहरी प्रमुख थापाले बताउनु भयो ।

पोखराको खपौदी क्षेत्रमा भवन तथा टहरा हाल निर्माण हुदै गरेको अबस्थामा नगर प्रहरीको टोली पुगेर केही सामान जफत गरेको छ । नगर प्रहरी बिष्णु भुजेल सहितको टोलीले अमृत पहारीले निर्माण गर्दैै गरेको भवन तथा टहराबाट जावेल, घन, कराई वेल्चा, गौची जफत गरेको छ । पोखराको सेतीमा वसन्त लिगर र दाहालले भवन बनाउदै हुनुहुन्छ ।

पखौदीमा फेवाताल किनारमै भवन तथा टहरा निर्माण गर्दै गर्नु भएको अमृत पहारीले आफ्नो रातो पूर्जा भएको जमिनमा टहरा बनाउन लागेको बताउनु भयो । पुरानो टहरा चुहीने भएकोले हाल मर्मत संहार गरेको बताउदै उहाँले फेवाताल किनारबाट ६५ मिटर छाड्नु पर्ने अबस्था सबैमा लागु भएको अबस्थामा भने छाड्न र भौतिक संरचना हटाउन तयार रहेको जनाउनु भयो ।

सिंसार क्षेत्रमा माटो तथा ढुंगाले दलदल भाग पुरेसंगै भौतिक संरचना निमार्ण कार्य रोकिएको छैन् । पोखरा महानगरले सिंसार र रामसार क्षेत्र तथा फेवातालको क्षेत्र कति हो त्यसको सिमाङकन गर्न नसक्दा फेवातालको माथिल्लो भाग पुर्ने काम भएको पोखराका केही व्यवसायको भनाई छ । यस बिषयमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईले मापदण्ड विपरित भौतिक संरचना निर्माण गर्ने उपर कार्वाही गर्ने चेतावनी दिनुभयो ।



This will close in 20 seconds