
दीननाथ बराल,
पोखरा १८, चैत,
पर्यटकीय नगरी पोखरामा हिमालय एअरलाइन्सले अन्तराष्ट्रिय व्यवसायीक उडान गर्न सुरु गरेको छ । हिमालय एअरलाइन्सले ल्हासा—पोखराको सिधा हवाई उडान गर्न सोमबार देखि सुरु गरेको हो ।

पहिलो फ्लाइटमा चाइनिज नागरिक सहित अन्य पर्यटक गरी १ सय ७ जना यात्रु लियर हिमालय एअरलाइन्स कम्पनीको एज ९ ७३२ विमानबाट सोमबार दिउँसो पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आएको हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो ।
उक्त विमानबाट मंगलबार १ सय भन्दा बढी चिनियाँ सहित पोखराका केही पर्यटन व्यवसायीहरु सहितको टोली पोखरा देखि ल्हासा प्रस्थान गर्ने भएको उहाँले जनाउनु भयो । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्ने गरी उडान तालिका सार्वजनिक गरिएको हिमालय एयरलाइन्सले जनाएको छ । ल्हासा–पोखरा उडानले नेपाललाई विश्वसँग जोड्ने, सांस्कृतिक आदान प्रदानलाई सहज बनाउने र दुवै गन्तव्यहरूको पर्यटन वृद्धिमा सहयोग गर्ने एअरलाइन्स्को विश्वास लिएको छ ।
दुई राष्ट्रका नागरिक–बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यले संचालन भएको उक्त व्यवसायीक उडान सफल हुने प्रवक्ता श्रेष्ठले विश्वास व्यक्त गर्नु भयो । नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो । १ घण्टा ३४ मिनेटमा ल्हासा देखि पोखरा आएको हिमालय एअरलाइन्सको एज ९ ७३२ विमान भोलि (मंगलबार) बिहान ८ः२० मा उडान गर्ने भएको छ ।
ल्हासाबाट पोखरा आएका पर्यटकहरुलाई पोखरामा स्वागत गरिएको छ । पोखरामा आएका यात्रुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखराका पर्यटन तथा व्यवसायीहरुले खादा तथा माला लगाउदै स्वागत गर्नु भएको थियो । नेपालको पर्यटकीय राजधानी पोखरालाई अन्य अन्तर्राष्ट्रिय गन्तव्यबाट पनि जोड्न सक्ने अबस्थाले गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा ठुलो टेवा पुग्ने मुख्यमन्त्री पाण्डेले बताउनु भयो । यसअघि चार्टर लहुने गरेको भए पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि पहिलोपल्ट हिमालय एयरलाइन्सले नियमित व्यावसायिक उडान थालेको हो । पोखराका मेयर आचार्यले पोखरा छेन्दु सिचुवान एअरलाइन्सको विमानले समेत ३ महिनाको व्यवसायीक चार्टर्ड उडान सुरुवात गर्नुले पोखरा चाइनामा हवाई कनेक्टिङ जोडिन लागेको बताउनु भयो ।
नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एअरलाइन्स्ले ल्हासागोङ्गर विमानस्थलबाट पोखरा अन्तरष्ट्रिय उडान सुरु गर्नुले पोखराका पर्यटन वयवसायीहरु निकै उत्साहित हुनु भएको छ । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीेले पोखराबाट चिनका विभिन्न शहरमा विभिन्न कम्पनीले सिधा हवाई उडान सुरु अति नै राम्रो भएको बताउनु भयो । पोखराबाटै भिषा प्रकृया समेत हुने कार्यलय यही स्थापना गर्न सके पोखराबाट सिधा हवाई उडान धेरे हुने उहाँको दाबी छ ।
हिमालय एअरलाइन्स ्आफ्ना यात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।
नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुणकुमार चौधरी, गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्याल, नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देव चन्द्रलाल कर्ण, ल्हासा स्थित नेपाली महावाणि ज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला, लगायतको उपस्थिती रहेको थियो । हिमालय एअरलाइन्स्का अध्यक्ष, झोउ एनयोङ, उपाध्यक्ष–प्रशासन तथा हिमालय एअरलाइन्स्का अधिकारीहरूले स्वागत गर्नु भएको थियो ।