पोखरामा वाडा अटो शो’ सुरु, १९ ब्राण्डका गाडीको बिक्रि तथा प्रर्दशन

-


     पोखरा क्लिक     
     चैत्र १५ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, चैत्र १५ ,

पोखरामा विहिबार देखि वाडा अटो सो २०२५ को सुरु भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा पहिलो पटक वाडा अटो सो २०२५’ कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक एवम वाडाका उपाध्यक्ष निरन केसीले बताए ।

अमरसिंहचौरमा ४ दिन सम्म चल्ने उक्त कार्यक्रमको पोखराका मेयर धनराज आचार्यले उद्घाटन गर्दै पोखरामा अटो व्यवसायलाई ब्यबस्थित गनुपर्ने बताए । पछिल्लो समयमा बिद्युतीय सवारी साधनको अत्याधिक प्रयोग बढेको उनले जनाए । महानगरले २० लाख पर्यटक भित्राउले लक्ष्य सहित सुरु भएको पोखरा भ्रमण बर्षलाई सफल पार्न यस्ता कार्यक्रमले समेत थप सहयोग पुग्ने मेयर आचार्यले विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा १९ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, ७ वटा ब्राण्डका २–पाङ्ग्रे लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तीय संस्थाहरूका २० वटा स्टलहरू रहेको प्रचार संयोजक विनय थापाले जानकारी दिए ।

कार्यक्रमले शिथिल बनेको अटोबजार र अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै भिजिट पोखरा २०२५ लाई पनि टेवा पुग्ने आयोजक पश्चिमान्चल अटोमोवाइल्स डिलर्स एसोशिएसनका अध्यक्ष दीपेन्द्र कोइरालाले बताए ।

नविनतम् सवारी साधनका मोडलहरू, आधुनिकप्रविधिहरू तथा यस क्षेत्रका अन्य सेवा प्रदायकहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२५ मा स्थानीय एवं देशभरबाट डिलर, उत्पादक, विक्रेता एवं ग्राहकहरूको भेलाले गण्डकी प्रदेशमा सवारी साधन र सम्बन्धित सम्पूर्ण क्षेत्रको विकास, बजारीकरण र विस्तारका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने वाडा अध्यक्ष कोइरालाले बताए । प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यावसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बत्र सक्ने आयोजकहरूको विश्वास छ ।

प्रदर्शनीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहभागितामा सवारी साधन सुरक्षा सम्बन्धी जानकारी, सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी विविध जानकारी मूलक कार्यक्रमहरू सञ्चालन गरिने छन । अटो सोमा बन्दिपुर केवुलकार एण्ड टुरिजम लि.ले डोर प्राइज अन्तर्गत ३ सय वटा केबुलकार टिकट उपलब्ध गराउने छ । प्रदर्शनी अवलोकन गर्न पुग्ने दर्शकहरूले टिकटमा गोला प्रथा द्वारा सो केबुलकारको टिकट प्राप्त गर्न सक्नेछन् । ४ दिनसम्म चल्ने अटो शोलाई ३५ हजार दर्शकहरूले अवलोकन गर्ने आयोजकले बताएको छ ।

अटो प्रदर्शनीमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिका प्रबद्र्धक रहेका छन् भने पोखरा उद्योग वाणिज्य संघ, युनाइटेड क्लब पोखरा तथा प्रदर्शनी स्थल उपलब्ध गराई अमरसिंह मा.वि. सहयोगी संस्था रहेका छन्।