
पोखरा, चैत १३,
‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरामा बुधबारदेखि शुरु भएको उक्त प्रतियोगिता पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा न्यूरोड हबले लेखनाथ ईगल्सलाई ७ विकेटले हराएको हो ।
लेखनाथ स्थित इडेन हेभेन क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ ईगल्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । लेखनाथ ईगल्सका लागि मार्सल बरालले २१ ब्लमा १९ रन र प्रदीप तामाङले १८ बलमा १७ रनको योगदान दिनुभयो । लेखनाथ ईगल्सलाई सस्तैमा समेट्न न्यूरोड हबका प्रमोद बास्तोलाले ४ ओभर बलिङ गर्दै १८ रन खर्चेर ३ विकेट लिनुभयो ।
१ सय १९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्यूरोड हबले १४.३ ओभरमा केवल ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । न्यूरोड हबका लागि धिरज अधिकारीले २६ बलमा ३७ रन र कविन सापकोटाले ३१ बलमा २१ रनको योगदान दिनुभयो । लेखनाथ ईगल्सका सुवास बास्कोलाले २ विकेट लिनुभयो । खेलको प्लेयर अफ दी म्याच बिजेता टिम न्युरोड हबका प्रमोद बास्तोला घोषित हुनुभयो ।
यसअघि प्रतियोगिताको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले उद्घाटन गर्नु भएको थियो । प्रतियोगिता अन्तर्गत विहीबार दोस्रो दिन लेखनाथ ईगल्स र लेकसाईड फाल्कोन आमने सामने हुनेछन् । चैत १५ गतेसम्म जारी रहने प्रतियोगितामा ३ टिम सहभागी छन् । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईएको अध्यक्ष पुनले बताउनु भयो ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उहाँले जनाउनु भयो । प्रतियोगिताको बिजेता र प्रत्येक दिनको प्लेयर अफ दी म्याचलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उहाँले जनाउनु भयो ।