सविना र किशोरको आवाजमा गीतकार आरजूको ‘सम्झौता गरौँ’ सार्वजनिक

-


     पोखरा क्लिक     
     चैत्र १ गते २०८१ मा प्रकाशित


काठमाडौं, १ चैत्र,

गीतकार आरजू बिष्ट सल्यानीको रचना रहेको ‘सम्झौता गरौँ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका सविना सुनाम र गायक किशोर सुनारको आवाज रहेको छ । यो गीतमा गीतकार बिष्टको नै सङ्गीत रहेको छ ।

संसारमा हर कुराहरू कुनै एक परिपक्व संझौताको बलियो जगमा, बलियो आधारमा तय गरिन्छ । यो अँझ जीवनका लागि महत्वपूर्ण मानिन्छ । कतिपय लिखित र कति अलिखित हुन्छन् । मायाको आधार भनेको भावनात्मक सुजबुजको गाँठो हो । माया प्रेमका लागि त्यस्तो त्यागको खोजिका लागि नै सर्वश्रेष्ठ हो । दुबै मनका कुराको गाँठो एउटै भयो भने त्यो कहिल्यै टुट्दैन । यसै परिवेशको यो गीतलाई संगीत संयोजक तथा रेकर्डिष्ट विनोद रसाइलीले क्रेजी स्टुडियोमा गरेका हुन् । यो गीत र धून १९ वर्ष अगाडी गीतकार विष्टले गायिका सुनामलाई दिएका थिए । विविध कारणले बाहिर ल्याउन नसिकएको गीतलाई यति धेरै वर्षपछि दर्शक र श्रोता माझ ल्याएको र १९ वर्ष पछि बल्ल सपना पूरा भएको गायिका सुनामले बताइन्। यो गीतमा सविना दिदिसंग गायनमा सरिक हुन पाउँदा निकै खुसी लागेको गायक किशोरको अनुभव छ ।

गीतकार विष्टले गीत नेपाली सुगम संगीतका लागि एउटा ईंटा थपिएको बताए । उनले भने, आशा छ श्रोता र दर्शकले मन पराउनु हुनेछ ।सञ्चारकर्मी समेत रहेका सल्यानीका धरै गीत दर्शक श्रोताले रूचाइसकेका छन् । उनले लोक, पप, सुगम मात्र नभएर खेलकुदका विभिन्न गीतबाट योगदान दिएका छन्। सरकारी सेवामा रहेकी गायिका सुनामले आफ्नो साङ्गीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेकी छन् ।

गीतको भिडियो आकर्षक बनाइएको छ । वासना क्रियसनको प्रस्तुतीमा तयार गरिएको भिडियोमा पोखरेली कान्छा माधव र सङ्गीता खातीको फिचर्ड रहेको छ ।गीतको शव्द र संगीत सुनेपछि पूराना कलाकार, गीतकार, संगीतकार, निर्देशक मनोज बिक भावुकले दिलबाटै मन पराएर भिडियो बनाएको बताए । मलाइ मन परेपछि पर्यो पर्यो अनि त्यो काम फत्ते गरेरै छाड्छु र यो गीतमा पनि त्यसै गरें । भावुकको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सोम रामदाम र मनोजले छायांकन गरेका हुन् । गीत वासना क्रियसन युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । निर्माण टीमले गीतलाई माया गर्न र यसको प्रवर्धनमा सघाउन अनुरोध गरेको छ ।