
दीननाथ बराल,
पोखरा २८, फागुन,
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आउँदो चैत ५ गते (मार्च १८ तारिख) देखि चिनको सिचुवान एअरलाईन्सले छेन्दुक शहर देखि पोखरा सम्म चाटर्ड फ्लाइट गर्ने भएको छ । पोखरामा निर्माण भएको उक्त विमानस्थल दुई बर्ष भन्दा बढी समय हुँदा पनि अन्तराष्ट्रिय रुपमा उडान हुन नसके पछि व्यावसायीक उडान गराउने उद्धेश्यले चैत ५ गते देखि चाटर्ड फ्लाईटको रुपमा ३ महिनासम्म संचालन हुने भएको आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पोखरा पर्यटन परिषदको नेतृत्वमा नेपाल स्थित चिनियाँ राजदुतावास र सिचुवान एअरलाईन्स सँगको सहकार्यमा कम्तिमा पछि १० वटा चाटर्ड फ्लाइट हुने गरी तयारी गरिएको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनु भयो । साप्ताहिक रुपमा चाटर्ड फ्लाईट हुने दुबै तर्फका पर्यटन व्यवसायी, नीजि क्षेत्रका व्यवसायी सहितका पत्रकार एवं अन्य व्यक्तिहरुको लागि सहुलियद दरमा प्याकेजिङ हुने भएको उहाँले जनाउनु भयो । प्रति व्यक्ति करिब १ लाख २३ हजारको प्याकेजमा ७ रात ८ दिनको चिन भ्रमणको प्याकेज हुने भएको परिषदले जनाएको छ ।
यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलाएमान हुने आशा राखिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । अबको तीन महिना सम्मको अवधिमा करिव १ हजार २ सय ५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट हवाई मार्ग हुदै सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउन प्रयासरत रहेको चिनियाँ दुताबास, सिचुवान एअरलाईन्स र चाइना ट्राभल इन्टरनेश्नल छेन्दुले जानकारी गराएका छन । सुरुवाती चरणमा केही व्यावसायिक चार्टर उडानबाट सुरु गरेर यसलाई व्यवसायीक उडानमा परिणत गरी नियमित अन्तर्राष्ट्रिय उडान गर्ने योजना रहेको कम्पनीहरुले उल्लेख गरेका छन्।
करिब २३ अर्बमा २ बर्ष २ महिना अघि भव्य समारोहका बिच उद्घाटन गरिएको पोखरा अन्तराष्ट्रिय mविमानस्थलमा हालसम्म नियमित रुपमा अन्तराष्ट्रिय हवाई उडान हुन सकेको छैन यद्यपी चाइना, भुटान, भारतमा विभिन्न चाटर्ड फ्लाइट भने भएका छन्।
अन्तर्राष्ट्रिय विमान सुचारु गर्नको लागि पटक पटक राज्यका विभिन्न निकायहरु सहित प्रधानमन्त्री समेत लाई ध्यानाकर्षण गरिरहदा पनि उडान सुचारु हुन नसक्दा निजी क्षेत्रका पर्यटन व्यवसायीहरुले सोनो प्रयास गरेको परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । उक्त अभियानलाई सफल पार्न पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।
चैत ५ गते मंगलवार विहान १०ः०० बजे १ सय २७ जना चिनियाँ यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण गर्ने भएको परिषदका महासचिव जीवनराज सापकोटाले बताउनु भयो । सोही दिन मध्यान्हः १२ः०० बजे १ सय २७ जना पर्यटन व्यवसायीहरु चाइनाको छेन्दु प्रस्थान गर्ने भएका छन्।
पहिलो व्यवसायिक चार्टर उडानमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपि वहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायत पर्यटन संघ संस्थाका अध्यक्ष तथा कार्यसमिति र समग्र पर्यटन व्यवसायीहरुको उक्त उडानमा सहभागी हुनुहुने भएको छ ।
७ रात ८ दिन सम्मको उक्त कार्यक्रममा विषेश गरी सिचुवान प्रदेशको छेन्दु लुझोउ, इमि लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटनका विकास, विस्तारका बारे जानकारी लिइनेछ भने नेपाल पर्यटन वोर्डको आयोजना तथा नेपाली महाबाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छोङछिङमा कार्यकमको आयोजना गरिने परिषदले जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । पोखरा महानगरपालिकाका मेयर आचार्यको नेतृत्वमा लुझोउ शहरमा केही विशिष्ट व्यक्तिहरु सहित उहाँका समकक्षी सँग भेटवाता र महत्वपुर्ण विषयहरुमा छलफल समेत हुने मेयर आचार्यले बताउनु भयो ।