
पोखरा २८, फागुन,
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले मादीको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनु भएको छ । कास्कीको मादी गाउँपालिकाको ९ औं स्थापना दिवसको समारोहमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डे उक्त कुरा बताउनु भएको हो ।

मादी गाउँपालिका आफैमा पर्यटकीय र सम्भावना भएको क्षेत्र भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले पालिकाको समृद्धि र विकासको लागि आवश्यक विकास योजनामा सहयोग गर्ने वचन दिनुभएको हो । मादी गाउँपालिकाले पालिका स्थापनाको ९ औं बर्ष गाँठको अवसरमा दोस्रो अध्यक्ष कप खुला भलिबल प्रतियोगिता समेत सुरु गरेको छ । मादी–३, याङ्जाकोटमा सुरु प्रतियोगितामा विजेताले २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
प्रतियोगिताको उपविजेताले १ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सेमिफाइनल पुग्ने टिमहरूले ५०÷५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष नगद पुरस्कार प्रदान गरिनेछ । गाउँपालिकाले “खेल अभियान, पर्यटन र संस्कृतिको पहिचान” भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरेको मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।