
दीननाथ बराल,
पोखरा २१, फागुन,
कास्कीको अन्नपूर्ण बेसक्याम्पमा बुधबार देखि हेलिकोप्टर उडान गर्दा शुल्क लिन सुरु गरिएको छ । अन्नपूर्ण गाउँपालिकाले आफ्नो ठाउँमा निश्चित मापण्डका आधारमा अन्नपूर्ण बेसक्याम्पमा हेलिकोप्टर उडान गर्दा आज(बुधबार) देखि शुल्क लिन सुरु गरेको अन्नपूर्ण गाउँपालिकाले पोखराक्लिकलाई जनाएको छ ।
सिम्रिक एयरलाइन्स कम्पनीले अन्नपूर्ण गाउँपालिकाबाट उक्त क्षेत्रमा हेलिकोप्टर उडानको अनुमति लिएसंगै पहिलो फ्लाईट बुधबार देखि नै सुरु गरेको हो । बुधबार सिम्रिक एयरलाइन्सले दुई वटा व्यवसायीक हेलिकोप्टर उडान गरेको सिम्रिक एयरलाइन्स गण्डकी प्रदेशका कमल गौतमले बताउनु भयो । पर्यटनको सिजनमा एकै दिनमा १२ वटा भन्दा बढी उडानको सम्भावना भए पनि स्थानिय सरकार अन्नपूर्ण गाउँपालिकाको अनुमति विना आफुहरुले हेलिकोप्टर उडान नगर्ने उहाँले जनाउनुभयो । हालसम्म उक्त क्षेत्रमा व्यवसायीक रुपमा दृश्यावलोकनको लागि सिम्रिक एयरलाइन्सले मात्र अन्नपूर्ण गाउँपालिकामा अध्ययावधिक अर्थात अनुमति लियर हेलिकोप्टर सेवा संचालन गरेको सिम्रिक एयरलाइन्सका गौतमले जनाउनु भयो ।
कास्कीको अन्नपूर्ण बेसक्याम्पमा हेलिकप्टर उडान गरी ल्याण्ड गर्र्ने विभिन्न कम्पनीहरुले अब देखि प्रति उडानको १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने कानूनि व्यवस्था गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङ्गले बताउनु भयो । अन्नपूर्ण गाउँपालिकाले हेलिकप्टर उडानमा पर्यटन शुल्क लिने गरी कार्यविधि बनाएको बताउदै वडा नम्बर ७ का अध्यक्ष समेत रहनु भएको उहाँले अनुमति विना उडान गर्ने कुनै पनि हेलिकोप्टरको लागि अवतरण गर्न नदिने पोखराक्लिकलाई बताउनु भयो । पटकेको हकमा प्रति हेलिकोप्टर उडानको शुल्क २० हजार तिर्नुपर्ने भएको छ भने गाउँपालिकामा कम्पनीहरु अध्यावधिक गर्न अर्थात अनुमति लिनको लागि पहिलो पटक ५ हजार शुल्क निर्धारण गरिएको पालिकाले जनाएको छ । “अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण आधार शिविर हेलिकप्टर उडान पर्यटन शुल्क व्यवस्थापन सम्वन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१“ रहेको छ ।
२०७९ सालमा बनाइएको कार्यविधिमा पालिकाले संशोधन सहित फागुन १ गते राजपत्रमा प्रकाशन गरेको गरेको पालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बताउनु भयो । अन्नपूर्ण बेसक्याम्पमा विभिन्न देशका पर्यटकहरु हेलिकोप्टर मार्फत आउने हुदा आफुहरुले उचित ढंगले व्यबस्थापन गर्न उक्त कार्यविधि सहित नियमन र अनुगमन समेत गर्ने भएको उहाँले जनाउनु भयो । पालिकाबाट अनुमति लिएका कम्पनीले मात्रै एक बर्षसम्म हेलिकोप्टरको उडान पाउने भएका छन भने अन्यको हकमा पटकेको रुपमा शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ का अध्यक्ष हिम बहादुर गुरुङ्गले आफ्नो क्षेत्रमा पदमार्गहरु भत्केर र पुनः निार्माण नहुदा विदेशी पर्यटक आगमनमा गिरावट आएको बताउनुभयो । हेलिकोप्टर उडानको शुल्कबाट उठेको रकम पदमार्ग सहित आफ्नो वडाको विकासमा खर्चिने भएको उहाँले बताउनु भयो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) बाट समेत कम्पनीले उडान शुल्क तिर्नुपर्छ । उक्त वेशक्याम्पमा प्रति उडान ३ हजार रुपैया शुल्क लिदै आएको एक्याप पोखराका प्रमुख डा. रविन कडरियाले जानकारी दिनुभयो । यसैबिच, हालसम्म सिम्रिक एयरले मात्र उत्तः क्षेत्रमा उडान अनुमति लिएको छ । उक्त कम्पनिले आफ्नो सेवा समेत हाल संचालन गर्न सुरु गरेको कम्पनीले जनाएको छ । पालिकाको नियम भित्र रहेर सिम्रिक एयर कम्पनीले सम्झौता गरिसकेको पालिका अध्यक्ष केसीले जनाउनु भयो । पर्यटन शुल्कबाट प्राप्त आम्दानी ११ नम्बर वडाको पर्यटन विकासमा खर्च गर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ भने ३ प्रतिशत पर्यटन सूचना केन्द्रमा खर्च गरिने भएको छ । सिजनमा भने उक्त क्षेत्रमा यस अघि दैनिक २० वटासम्म फ्लाइट हुने गरेको थियो । अब देखि भने एक दिनमा १२ वटासम्म मात्रै उडान गर्न पाउने गरी व्यवस्था गरिएको छ।
साझेदार संस्था आपतकालीन उद्धार, विपद् व्यवस्थापन, पर्यटन, चिकित्सा सहायता, वा अन्य आवश्यक सेवाहरूमा हेलिकप्टर उडान सञ्चालन गर्न सहायता पुरÞ्याउने उद्देश्यले संलग्न हुन अनुमति दिएको पालिकाले जनाएको छ । सुरक्षात्मक उपाय तथा नियमनको पालना गर्दै उडान सञ्चालनलाई व्यवस्थित बनाउने, सरोकारवाला निकायहरूसँग समन्वय गरी सेवाको सहज उपलब्धता सुनिश्चित गर्ने, हेलिकप्टर उडान सञ्चालनका लागि आवश्यक कानुनी तथा नियामक आवश्यकताहरू पूरा गर्ने, वित्तीय तथा लगानी व्यवस्थापन हेलिकप्टर सेवाका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापन गर्ने, उडान शुल्क, बीमा, तथा अन्य वित्तीय पक्षहरूको व्यवस्थापनमा सहजीकरण गर्ने, सेवा प्राप्त कर्तालाई उचित शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउने, अपरेसनल व्यवस्थापन उडान तालिका तथा मार्गनिर्धारणमा सहकार्य गर्ने,आपतकालीन उद्धार, विपद् व्यवस्थापन, तथा चिकित्सा उडानका लागि तत्पर रहनुपर्ने योजना बनाउने, उडान सुरक्षाका मापदण्डहरू पालना गर्न निगरानी राख्ने र विपद् तथा उद्धारको हकमा भने शुल्क तिर्नुनपर्ने पालिकाले जनाएको छ ।