
पोखरा, फागुन २०,
पुस्तकको बाहेक व्यवहारिक सीप उजागर गराउनका लागि पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा सोमबार एकदिने फूड फेस्टिबल आयोजना गरिएको छ । होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीको संयोजनमा विद्यालयले फेस्टिबल आयोजना गरेको हो ।
फेस्टिबलको होटल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले उद्घाटन गरेका थिए । विद्यालयले पछिल्लो तीनवर्षदेखि निरन्तर फूड फेस्टिबल आयोजना गर्दै आएको छ । प्रमुख अतिथि गैह्रेले विद्यार्थीमा रहेको सीप पस्कने अवसर यस्ता फेस्टिबलले दिने बताए । ‘विद्यार्थीले पुस्तकको ज्ञान मात्र पढेर हुँदैन । उनीहरुलाई व्यवहारिक सीप पनि दिनुपर्छ । कक्षाकोठामा पढेको ज्ञानलाइ भान्सामा व्यवहारमा लागु गर्ने भएकोले यस्ता कार्यक्रमले विद्यार्थीमा क्षमता विकास गर्छ,’ उनले भने, ‘फूड फेस्टिबल आफैमा सिकाई भएकोले यसले विद्यार्थीलाई वास्तविक ज्ञान उपलब्ध गराउँछ ।’
पोखरामा होटल व्यवस्थापन अध्ययन गराउने करिब तीनदर्जन कलेज रहेकोमा ती कलेजले पोखराका लागि जनशक्ति उत्पादन गरेर साथ दिएको पनि उनले बताए । ‘पोखरा पर्यटकीय सहर हो । यहाँ जनशक्तिको अभाव खड्किरहेको हुन्छ । पोखराका विद्यालय र तालिम केन्द्रले अभाव भएको जनशक्ति पूर्ति गर्न सहयोग गरेका छन,’ उनले भने, ‘शिक्षण र होटल क्षेत्रको सहकार्यमा अघि बढ्ने हो भने दुवै क्षेत्रलाई लाभ मिल्छ ।’ पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीको वास्तविक सिकाई नै यस्तै कार्यक्रम हुने बताए । विद्यालयले आगामि दिनमा पनि फूड फेस्टिबल आयोजना गरेर विद्यार्थीको ज्ञानलाई प्रस्फुटन गराउने उनले बताए ।
प्राचार्य सरोज कोइरालाले फूड फेस्टिबलका लागि विद्यार्थी आफैले परिकार पकाउने र पस्कने गर्दा उनीहरुमा थप क्षमता अभिवृद्धि हुने बताए । ‘वास्तविक प्रयोगात्मक अध्यास नै यस्तै कार्यक्रम हुन । होटल व्यवस्थापनका विद्यार्थीले वास्तविक रुपमा अभ्यासलाई प्रस्तुत गर्ने अवसर पाएका छन,’ प्राचार्य कोइरालाले भने, ‘विद्यार्थीलाई किताबी भन्दा पनि प्रयोगात्मक अभ्यास जरुरी रहन्छ । फूड फेस्टिबलले त्यो अभ्यास दिलाएको छ ।’ सह प्राचार्य मिनु श्रेष्ठ कुँवरले आगामि दिनमा पनि विद्यार्थीका लागि यस्तै रचनात्मक कार्यक्रम गर्ने प्रतिवद्धना जनाईन । दशजोड दुइका संयोजक देव क्षेत्रीले विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित राख्न नहुने बताए । उनका अनुसार पश्चिमाञ्चलले फरक विषय अध्ययन गर्ने फरक विद्यार्थीलाई विभिन्न क्षेत्रको भ्रमण, घुमघाम तथा भेटघाटमार्फत प्रयोगात्मक रुपमा अभ्यस्त गराउने प्रयास गरेको बताए ।
‘हामी पढाउने मात्र गर्दैनौ । विद्यार्थीलाई वास्तविक ज्ञान दिनका लागि उनीहरुलाई अभ्यासमा पनि उत्तिकै सक्रिय बनाउँछौ,’ क्षत्रीले भने, ‘वास्तविक सीप नै अभ्यास हो । किताबमा सैद्धान्तिक ज्ञान लिन्छन, तर, वास्तविक ज्ञान त विद्यार्थीले प्रयोगशालामा लिने हो । त्यो अभ्यासमा विद्यालय सधैं अग्रसर छ ।’ पश्चिमाञ्चल माविले विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन, मानविकी, सौन्दर्यकला विषयमा अध्यापन गराउँदै आएको छ ।




