हिमालय एअरलाइन्सले पोखरा ल्हासा उडान गर्ने, १० लाख चिनिया पर्यटक भित्राउने लक्ष्य

-


     पोखरा क्लिक     
     फागुन १९ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १९, फागुन,

१० लाख चिनिया पर्यटक पोखरा सहित नेपाल भित्राउने लक्ष्य सहित हमालय एअरलाइन्सले पोखरा देखि ल्हासा सिधा हवाई उडान गर्ने भएको छ । नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एअरलाइन्स्ले पर्यटनको राजधानी पोखरा र काठमाण्डौंबाट विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच मार्च ३१ तारिख देखि हवाई उडान सुरु गर्ने भएको हो ।

यही मार्च ३१ तरिख देखि हप्ताको एक दिन उक्त रुटमा हवाई उडान गर्ने तयारी गरेको हिमालय एअरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सुरु गरिएको यस उडानले हिमालयन एअरलाइन्स्को दुई राष्ट्रका नागरिक– नागरिक बीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो । नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभवहरू सिर्जना गर्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले जनाउनु भयो ।

उहाँले भन्नुभयो “हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो, हिमालय एअरलाइन्स्ले सधैं चीनमा नयाँ नयाँ गन्तव्यहरू खोज्दै आएको छ । ” क्षेत्रीय सञ्जाल बिस्तार गर्ने तयारी गरेको कम्पनीले नयाँ रुटको उडान मार्फत हिमालय एअरलाइन्स्ले नेपाल र चीन बीचको हवाई सम्पर्कलाई सुदृढ गर्ने लक्ष्य राखेको छ भने उक्त उडान एअरलाइन्स्का लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने कम्पनीले विश्वास लिएको छ ।

काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजना सहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्ने भएको हो । प्रारम्भिक योजना अनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार मार्च ३१, २०२५ मा बिहान ८ः३० बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासागोङ्गर विमानस्थलमा पुग्ने भएको छ ।

त्यसैगरी, ल्हासा–पोखरा उडानले ल्हासागोङ्गर विमानस्थलबाट स्थानीय समय अनुसार मार्च ३१, २०२५ मा १३ः१५ बजे उडान भर्ने र सोही दिन नेपाली स्थानीय समय अनुसार १२ः४५ मा पोखरा अवतरण गर्ने भएको छ ।

यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१, २०२५ मा स्थानीय समय अनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासागोङ्गर विमानस्थलमा पुग्ने कम्पनीले प्रेस विज्ञेप्ति मार्फत जानकारी गराएको छ ।

त्यसैगरी ल्हासा–काठमाडौँ उडानले ल्हासागोङ्गर विमानस्थलबाट अप्रिल०१, २०२५, मा स्थानीय समय अनुसार १२ः३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार १२ः०५ मा काठमाडौँ अवतरण गर्नेछ ।

हिमालय एअरलाइन्स ्आफ्नायात्रुहरूलाई गुणस्तरीय सेवा र सुरक्षित यात्राको अनुभवप्रदान गर्न सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यो मार्गमा उडान शुभारम्भ भएसँगै सुस्त ग्रीष्मकालीन सिजनमा पनि पर्यटन बढ्ने अपेक्षा गरिएको छ ।