
पोखरा,
उच्च अदालत पोखराले पुनः कोटीहोम आयोजक मानव सेवा फाउण्डेशनकै पक्षमा फैसला गरेको छ । कोटीहोम सम्बन्धमा उच्च अदालतका न्यायाधीश द्वय दीपेन्द्र अधिकारी र रमेश कोइरालाको संयुक्त इजलासले यसअघि उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले गरेको फैसलालाई नै सदर गरेको हो ।
इजलासले यस मुद्दालाई अग्राधिकार दिएर छिटो पेशीतोकी कानून सम्मत निर्णय गर्न समेत आदेश गरेको छ । यही फागुन १ गते उच्च अदालतले कोटीहोम सञ्चालनमा कुनै बाधा अवरोध नगर्न अन्तरिम आदेश दिएको थियो । यो आदेश एक पक्षीय भएको आरोपले खारेज गर्न माग गर्दै पोखरा महानगरपालिकाले उच्चमै निवेदन दिएको थियो । सो निवेदन माथि सोमबार सुनुवाई गर्दै अधिकारी र कोइरालाको इजलासले फागुन १ गते भएको अन्तरिक आदेशलाई अन्यथा गरि रहनु नपर्ने फैसला गरेको हो । आज पोखरा महानगरपालिकाको तर्फबाट अधिवक्ता शुकदेव गौतम र विपक्षी मानव सेवा फाउण्डेशनको तर्फबाट वरिष्ठ अधिवक्ता द्वय कृष्णबहादुर थापा र राजु बस्नेतका साथै अधिवक्ता वीरेन्द्र केसी, दुर्गाप्रसाद कोइराला, दीपकशर्मा पौडेल र तोयनाथ पौडेलले बहस गरेका थिए ।
फागुन १ गते अदालतले मानव सेवा फाउण्डेशनले प्राप्त गरेका अनुमतिपत्र, नेपाल ट्रष्ट र सम्बन्धित सरकारी निकायको निर्णय तथा महायज्ञ आयोजनाका लागि गरिएको तयारीलाई आधार मानेर विपक्षी पोखरा महानगरपालिका र मातहतका निकायलाई कानूनी रूपमा बाधा पुग्ने कुनै कारण बाहेक अन्य कुनै पनि अवरोध सिर्जना नगर्न आदेश दिएको थियो । पोखराको बाराहीघाट स्थित ४८ रोपनी क्षेत्रफलमा आयोजना गर्न लागिएको ‘श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ’ सञ्चालनमा कुनै बाधा अवरोध नगर्न आदेशमा भनिएको छ । आदेशमा भनिएको थियो, ‘मानव सेवा फाउण्डेशनले नेपाल ट्रष्टको स्वामित्वमा रहेको बाराहीघाटको करिब ४८ रोपनीजग्गा भाडामा लिएर २०८२ वैशाख सुरुदेखि ३० गतेसम्म कोटीहोम विराट ज्ञान महायज्ञ आयोजना गर्ने तयारी गरिरहेको छ, महायज्ञ सञ्चालनका लागि नेपाल ट्रष्टको कार्यालय, काठमाडौंले तोकिएको भाडा लिएर अनुमति दिएको छ भने पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, पोखराले समेत सहमति प्रदान गरिसकेको छ, साथै पोखरा महानगरपालिका वडा नं. ६ कार्यालयले मिति २०८१ मंसिर ९ गते पत्र मार्फत अनुमति प्रदान गरेको देखिन्छ ।’
केहीदिन अघि पोखरा महानगरपालिकाले नेपाल ट्रष्टलाई पत्राचार गर्दै महायज्ञ सञ्चालनका लागि महानगरको तर्फबाट अनुमति नदिएको भन्दै पत्र पठाएको थियो । यस निर्णयलाई गैरकानूनी ठहर गर्दै मानवसेवा फाउण्डेशनले उच्च अदालतमा उत्प्रेषण परमादेश सहितको निवेदन दिएको थियो । मानव सेवा फाउण्डेशनले कोटीहोमका लागि २५ प्रतिशत तयारी पूरा गरिकसकेको भन्दै जसरी पनि कोटीहोम लगाएरै छाड्ने जनाएको छ । कोटीहोमका लागि काठ दाउरा संकलन गरे क्रममा चौतारीका वर पीपरका रुख ठुटै हुने गरी काटिएपछि तीव्र आलोचना भएको थियो । कोटी होममा श्रीमद्भागवत कथा, रामकथा, शिव महापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथा वाचन हुनुको साथै लाखौँको विवाह, ब्रतवन्ध, चौरासीपूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप, तीन सय भन्दा बढी ब्राह्मण गुरुको दैनिक उपस्थिति, लाखौँ रामनाम पुस्तिका वितरण गरी अरबौं रामनाम लेखिने र एक करोड शिवलिङ्ग स्थापना गरी एक करोड बेलपत्रद्वारा पुजन गरिने जनाइएको फाउण्डेसनले दाबी गरेको छ ।
सो अवसरमा राष्ट्रिय भजनप्रतियोगिता, कवितथा सन्त सम्मेलन, धार्मिक संघसंस्थाको सम्मेलन, ११ हजार कलशपुजन, २५ हजार नरिवलको भोग, कन्यापूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजार बढी स्रष्टा सम्मान, शालिग्रामपुजन, चित्रकला प्रतियोगिता, रक्तदान, तन्दुलाञ्चल र धान्याञ्चल पर्वतको निर्माण, धार्मिक क्षेत्रसँग सम्बन्धित वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम गरिने भएको छ । आगामी२०८१ चैत्र १७ बाट २०८२ बैशाख १७ सम्म कोटीहोमको प्रचारात्मक कार्यक्रम हुने र बैशाख १७ देखि जेठ २६ सम्म कोटीहोम सञ्चालन गर्ने आयोजकको तयारी गरेको छ । यसमा पोखराका मेयर धनराज आचार्यले उक्त महायज्ञ महानगरबाट अनुमति नलिई पर्यटकीय क्षेत्रमा उक्त महायज्ञ आयोजना गर्न नहुने जनाउदै आएका छन्।





