एक दिवसीय क्रिकेटः कास्की र तनहुँ फाईनलमा

-


     पोखरा क्लिक     
     फागुन १७ गते २०८१ मा प्रकाशित


पोखरा, फागुन १७,

प्रादेशिक क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा सञ्चालित प्रधानमन्त्री कप एकदिवसीय गण्डकी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा कास्की विजयी भएको छ । कास्कीले नवलपुरलाई ९ विकेटले पराजित गरेको छ ।

शनिबार सम्पन्न भएको खेलमा नवलपुरले दिएको ९९ रनको लक्ष्यलाई कास्कीले एक विकेटको क्षतिमा १९.१ ओभरमा पुरा गरेको हो । ५० ओभरको खेल ४० ओभरमा झारिएको थियो । ४० ओभरमा टस जितेर नवलपुरले व्याटिङ रोज्यो । ओसिलो पीचमा नवलपुरले केवल ९८ रन मात्रै बनायो । २१.४ ओभर मात्रै खेलेको नवलपुरले प्रमेश अर्यालले १७ रन बनाए । आर्या महतोले ११, आयुष सुवेदीले १४ र कमल परियार भने १५ रनमा अविजित रहे ।

कास्कीका सुवास भण्डारीले ४.४ ओभरमा १ मेडन राख्दै २६ रन खर्चिएर ५ विकेट लिए । विपिन खत्री र नितेश गिरीले समान दुई दुई विकेट लिए । ९९ रनको लक्ष्य पछ्याएको कास्कीले अर्जुन कुमाल र मुस्कान थापाको ओपनिङमा सहज जित निकाल्यो । कुमाल नटआउट ४७ रनमा बनाउने क्रममा ८ चौका प्रहार गरे । थापा भने ३५ रनमा आउट हुदाँ स्कोर कार्डमा ५ चौका लेखिएको थियो । रोहित चन्द ९ रनमा अविजित रहे । आईतबार फाईनल हुने छ । फाईनलमा कास्की र तनहुँ खेल्ने छन् ।