
गण्डकी,१४ फागुन,
कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत उपयोग गर्न नपाउँदा जन अपेक्षा अनुसार काम गर्न नसकिएको बताउनु भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल माछापुछ्रे गाउँपालिकाको ऐतिहासिक प्रथम गाउँ परिषदको उद्घाटन गर्दै उहाँले स्थानीय श्रोत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ले प्रयोग गर्दा स्थानीय तह श्रोतबाट बन्चित भएको बताउनुभयो ।
आफ्नो क्षेत्रभित्रको प्राकृतिक श्रोत परिचालन गर्ने संवैधानिक अधिकार स्थानीय सरकारलाई छ उहाँले भन्नुभयो, सवै श्रोतसाधन एक्यापले नै प्रयोग गर्दा यस क्षेत्रका अन्तर्गतका १६ वटा स्थानीय तह श्रोत विहिन भएका हुन् । अध्यक्ष गुरुङ भन्नुहुन्छ सरकारसंग बारम्बार अनुरोध गर्दै आएपनि १० बर्षभित्रै समुदायलाई हस्तान्तरण गर्नुपर्ने सहमति सहित १९८६ मा स्थापना भएको एक्याप अहिलेसम्म पनि आयोजनाकै रुपमा कायम रहनु र बर्षेनी म्याद थप गर्ने प्रचलनले प्रचुर सम्भावना भएर पनि यो क्षेत्रको प्राकृतिक श्रोत स्थानीयवासिन्दाले उपयोग गर्न पाएका छैनन् ।
प्रभावित क्षेत्रका स्थानीय पालिकाले स्थापनाकालदेखि नै प्राकृतिक श्रोता सधान उपयोग गर्न माग गर्दे आएपनि अहिलेसम्म सुनुवाही नभएको दुःख व्यक्त गर्दै उहाँले सरोकारवाल सवैको सहमतिमा एक्याप खारेर गर्नुको विकल्प नभएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सामुदायिक वन समुहमा परिणत गरि वनको संरक्षण, सम्वद्र्धन र उपयोगको अधिकार दिनुपर्ने बताउनुभयो । वन सम्वन्धि सम्पूर्ण अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्न संघ र प्रदेश सरकारसंग महासंघले जोडदार माग गर्दै आएको बताउँदै उहाँले वन पैदावारमा आधारित उद्यम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेले सरकारले यही फागुन महिनाको अन्तिमसम्म स्थायी लेखा नम्वर (प्यान) लिनको लागि दिएको छुटको भरपुर उपयोग गर्न आग्रह गर्नुभयो । स्थानीय पालिकाले वन ऐन बनाउनु पर्नेमा उहाँको जोड थियो ।
महासंघ पालिका अध्यक्ष धर्मराज डुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडानम्वर ६ का कार्यवाहक वडाअध्यक्ष गुरुदत्त अधिकारी, महासंघ कास्कीका उपाध्यक्ष चुडामणी अधिकारी, समाजसेवी रामचन्द्र अधिकारी,स्थानीय महासंघका कोषाध्यक्ष पार्वती अधिकारी वन क्षेत्रको महत्व माथि प्रकाश पार्दै वन डढेलो नियन्त्रणमा हातेमालो गरेर अघि बढ्ने सामुहिक प्रतिवद्धता जाहेर गर्नुभएको थियो ।