
दीननाथ बराल,
पोखरा ११, फागुन,
प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा पर्यटनको राजधानि पोखरामा भोलि (सोमबार) देखि नेपाल, भारत, चाइना एक्सपो २०२५ सुरु हुने भएको छ । पोखरा भ्रमण बर्ष २०२५ को अवसरमा पोखराको वुलौदीमा रहेको पोखरा इभेण्ट सेन्टरमा संचालन हुने उक्त कार्यक्रम सोमबार बिहान ८ः३० बजे देखि अनौपचारिक रुपमा सुरु हुने भएको छ भने साँझ ६ः०० बजे पछि उक्त कार्यक्रमको उद्घाटन हुने भएको एसोसिएसनका सदस्य एवं कार्यक्रम संयोजक सुनिल बहादुर भट्टराईले पोखराक्लिकलाई बताए ।

नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेबाट उक्त कार्यक्रमको उद्घाटन गर्ने तयारी गरिएको उनले जनाए । सहभागि हुन नेपाल सहित भारत र चाइनाबाट क्रेताहरु, बिक्रेताहरु, सञ्चारकर्मी र विज्ञ वक्ताहरु लगायत पर्यटनसँग सम्बद्ध सरोकारवालाहरु सहित ५ सय जना कार्यक्रममा सहभागि हुने भएको आयोजकले जनाएको छ ।
भारतबाट करिब ४० जना र चिनबाट करिब ५० जनाको सहभागिता हुने भएको छ भने बाँकी नेपालीहरुको सहभागिता हुने भएको संयोजक भट्टराईले बताए । दुई दिन मंगलबार र बुधबार भने बी टु बी कार्यक्रम हुने भएको संयोजक भट्टराईले जनाए ।
‘नाईस फर माईस एण्ड मोर’ भन्ने नाराका साथ आयोजना हुने उक्त पर्यटन मेलाले पोखरालाई पदयात्रा र साहसिक पर्यटनको केन्द्रको रुपमा मात्र नभई बैठक, सभा सम्मेलन, प्रोत्साहान, विवाह तथा अन्य उत्सव, महोत्सव, समारोह, मेला र प्रदर्शनीहरुका लागि आकर्षक गन्तव्यको रुपमा प्रवद्र्धन गर्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताए ।
यस्ता कार्यक्रमले पोखरा सहित नेपालको पर्यटन प्रबद्र्धनमा धेरै मद्धत पुग्ने परिषदका महासचिव जीवनराम सापकोटाले बताए । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद र अन्य प्रमुख पर्यटन संघसंस्था र सरकारी एवं निजी क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहकार्यमा कार्यक्रम हुने भएको हो । उक्त कार्यक्रमले पोखरा भ्रमण बर्ष २०२५ लाई समेत सहयोग पुग्ने महानगरले जनाएको छ ।