समाजसेवी एवं विश्व हिन्दु महासंघका पूर्व सभापति लिलाभक्त आचार्यको निधन

-


     पोखरा क्लिक     
     फागुन १० गते २०८१ मा प्रकाशित


डि.एन.बी.,
पोखरा १०, फागुन,

समाजसेवी एवं विश्व हिन्दु महासंघका पूर्व सभापति लिलाभक्त आचार्यको निधन भएको छ । पोखरा १७ पार्दीमा बस्दै आउनु भएको ९५ बर्षको उमेरमा आज बिहान उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ ।

समाजसेवी आचार्यको अन्तिम दाहसंस्कार आजै हुने भएको छ । आज विहान ११ः३० बजे उहाँको निवास पार्दीबाट शव यात्रा सहित पोखराको रामघाटमा अन्तिम दाहसंस्कार हुने भएको उहाँका आफन्तले जनाउनु भयो । विक्रम सम्वत १९८७ सालमा जन्मनु भएको आचार्य धार्मिक अभियन्ता र पोखरा क्षेत्रको दानविरका रुपमा आफ्नो छुट्टै पहिचान बनाउनु भएको छ । पोखरा बिरौटामा रहेको राम मन्दिर निर्माण देखि पोखरा क्षेत्रका धार्मिक मठ मन्दिर तथा क्षेत्रहरुमा उहाँको अतुलनिय योगदान रहेको छ ।

पोखरा छोरेपाटनस्थित हालको छोरेपाटन उच्च माध्यमिक विद्यालयको स्थापनामा लीलाभक्त आचार्यको भूमिका अग्रणी रहेको पोखराका सामाजिक अभियान्ता रविन्द्र माकाजुले बताउनु हुन्छ । २०३३ सालमा स्थापित सो विद्यालयमा आचार्य २०३३ देखि २०४६ सालसम्म अध्यक्ष बनेर विद्यालयको भौतिक संरचना मजबूत पार्नु भएको स्थानियले जनाउनु भएको छ । २०२२ सालमा हालको लेखनाथ नगरपालिकास्थित शिशुवा प्राथमिक विद्यालयलाई आफ्नो निजी ८ रोपनी जग्गा प्रदान गरेर आचार्यले शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको स्थानीय ले सधै स्मरण गर्नु भएको छ ।