पुम्दीकोटमा महायज्ञमा जारी, विदेशी पर्यटक पनि रमाउदै महायज्ञमा

-


     पोखरा क्लिक     
     फागुन ८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ८, फागुन,

पोखराको नयाँ पर्यटकीय गन्तव्य पुम्दीकोट बिशाल महादेवको मुर्ति परिसरमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा जारी रहेको छ । महायज्ञको दोश्रो दिन विहिबार विदेशी पर्यटक सहित भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो ।

महायज्ञमा भारतीय एवं तेश्रो मुलुकका पर्यटकहरु समेत सहभागि हुदै भजन चुड्कामा नृत्य समेत प्रस्तुतः गर्नु भएको थियो । समितिले यस बर्ष आयोजना गरेको महायज्ञमा पनि पोखरा बजार देखि पुम्दीकोटसम्म निःशुल्क बस सेवा संचालनमा ल्याएको छ । पोखराको पार्दी विरौटा बरालफिल्ड( महायज्ञको सम्पर्क कार्यालय तथा पोखराको सचिवालय) बाट बिहान ८ः०० बजे देखि बेलुका ५ बजेसम्म बस सेवा संचालन भएको यातायात तथा पार्किङ ब्यबस्थापन समितिका संयोजक सुदिप बरालले बताउनु भयो ।

त्यसै गरी महायज्ञको दोश्रो दिन विहिबार मात्र करिब २ लाख ५७ हजार रुपैया संकलन भएको छ । महायज्ञको पहिलो दिनमा १ लाख ५४ हजार आर्थिक सहयोग संकलन भएको महायज्ञका अर्थ तथा लेखा व्यबस्था उपसमिति संयोजक कमल प्रसाद बरालले बताउनु भयो ।

पुम्दीकोट आउने पर्यटकहरुको एक दिनको बसाई अवधि लम्बाउने उद्धेश्यले पुम्दीकोटमा साँझमा लेजरलाइट मार्फत शिवको मुर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवन लीला सहितको बृत्तचित्र प्रर्दशन गर्ने उद्धेश्य रहेको अध्यक्ष बरालले पोखराक्लिकलाई जनाउनु भयो । महायज्ञमा प्रमुख वाचकको रुपमा भागवत मन्जरी माता राधिका दासी रहनु भएको छ ।

भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृज निर्माण गर्ने लक्ष्य समेत राखिएको छ भने हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीन द्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिको मर्मत सम्भार गर्ने, दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने लगायतका उद्धेश्य रहेको अध्यक्ष बरालले जनाउनु भयो । महायज्ञ यही फागुन १५ गतेसम्म संचालन हुने भएको छ । समितिले आगन्तुक सहयोगी दाता तथा श्रजालु भक्तजनहरुलाई प्रसाद समेत वितरण गरेकोे छ ।



This will close in 20 seconds