पुम्दीकोटमा महायज्ञ सुरु (भिडियो सहित), सिसाको पुल निर्माण र ताण्डव नृत्य सहितको परियोजना महायज्ञबाट पूरा गर्ने लक्ष्य

-


     पोखरा क्लिक     
     फागुन ७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ७, फागुन,

पछिल्लो समयमा धार्मिक एवं पर्यटनको चर्चीत गन्तव्यको रुपमा रहेको बिशाल महादेवको मुर्ति परिसरमा आज (बुधबार) देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिमा २०८१ सुरु भएको छ । पुम्दीकोटमा साँझमा लेजरलाइट मार्फत शिवको मुर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवन लीला सहितको बृत्तचित्र प्रर्दशन गर्ने र सिसाको पुल निर्माण गर्ने लगातका उद्धेश्यले बुधबार देखि पुम्दीकोट कोट विकास समितिको आयोजनामा उक्त महायज्ञ सुरु भएको समितिले जनाएको छ ।

उक्त भौतिक संरचना निर्माण भएमा पुम्दीकोट आउने पर्यटकहरुको एक दिनको बसाई अवधि लम्बाउने समितिका अध्यक्ष एवं मुल समारोहका संयोजक चन्द्रकान्त बरालले बताउनु भयो । भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृज निर्माण गर्ने लक्ष्य समेत राखिएको छ भने हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीन द्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिको मर्मत सम्भार गर्ने, दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने लगायतका उद्धेश्य रहेको अध्यक्ष बरालले जनाउनु भयो ।

यही फागुन १५ गतेसम्म संचालन हुने उक्त महायज्ञको गण्डकी प्रदेश सभाका सदस्य(सांसद) प्रकाश बरालले उद्घाटन गर्दै पोखरा २२ को बृहत विकासमा पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना कोषेढुंगा सावित हुने बताउनु भयो । स्थानियको सक्रियतामा सुरु भएको उक्त अभियान अब सबैको साथ र सहयागले गर्दा अन्तिम चरणमा रहेका केही भौतिक पूर्वाधार निर्माण गर्न सबैको साथ र सहयोगले पूरा गर्ने वचन दिनुभयो । यस अघिका दुई पटकको महायज्ञले गर्दा हाल नेपालकै चर्चीत धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा परिचित भएको दाबी गर्दै सांसद बरालले एकै दिनमा १२ हजार सम्म पर्यटक पुम्दीकोट आएको दाबी गर्नुभयो । जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष लीलाधर पौडेलले पोखरा क्षेत्रमा धार्मिक पर्यटनको अथाह सम्भवना रहेको दाबी गर्नुभयो । पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले पोखरा महानगरको नयाँ पर्यटकीय गन्तव्यको रुपमा रहेको पुम्दीकोटको बाँकी भौतिक पूर्वाधार निर्माण गर्ने उक्त अभियानमा महानगरको सहयोग हुने जनाउनु भयो ।

बुधबार महायज्ञ उद्घाटनको पूर्व अवसरमा पोखरा २२ वडा कार्यालय अर्थात शुक्रराज माविको गेट अगाडीबाट बृहत झाँकी सहितको कलश यात्रा आयोजना भएको थियो । र्यालीमा पन्चे बाँझा सहित विभिन्न जनजातिको झाकीमा र्याली प्रर्दशन सहित कलश यात्रा भएको उपाध्यक्ष नरहरी बरालले जनाउनु भयो । महायज्ञका प्रमुख वाचकको रुपमा भागवत मन्जरी माता सिता दासी रहनु भएको प्रचार प्रसार समितिका सहसंयोजक मातृका प्रसाद बरालले पोखराक्लिकलाई बताउनु भयो ।

४१ करोडको बिशाल महादेव मुर्ति परियोजना अन्र्तगत अझै १० देखि १२ करोडको परियोजनाका काम बाँकी रहेको अध्यक्ष बरालले दाबी गर्नु भयो । सिसालको पुल राख्ने बिषयमा भने नीजि कुनै कम्पनी तथा संस्थाको खोजि भएको समितिले जनाएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै ज्ञान महायज्ञको आयोजना गरिएको बताउदै अध्यक्ष बरालले ज्ञान महायज्ञ यही फागुन १५ गतेसम्म संचालन हुने उल्लेख गर्नु भयो ।

पुम्दीकोट धामको धार्मिक, एतिहासिक र पुरातात्त्विक महत्वका बारेमा प्रष्ट्याउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्राउने पुम्दीकोटमा दिगो पर्यटनको लागि उक्त परियाजना आवश्यक भएको दाबी गर्नुभयो । यस अघि पुम्दीकोटमा २०७३ र २०७९ मा दुई पटक महायज्ञ आयोजना गरिएको थियो भने हाल तेस्रो पटक आयोजना गर्न लागिएको हो । पहिलो महायज्ञबाट करिब ६ करोड रुपैया र दोस्रो महायज्ञबाट करिब ३ करोड रुपैया संकलन गरेको समितिले जनाएको छ ।