१९ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका विल्सनलाई, गण्डकी तर्फ प्रथम पर्वतीय दौडका विजेता क्षेत्रीलाई उपाधि

-


     पोखरा क्लिक     
     फागुन ३ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ३, फागुन,

१९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याली धावक विल्सन चेरुयोटले जित्नु भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पोखरामा आयोजना गरेको उक्त प्रतियोगितामा उहाँले निर्धारित दुरी २ घण्टा १७ मिनेट २४ सेकेण्डमा उक्त दुरी पार गरी उपाधि जित्नु भएको हो ।

त्यसै गरी प्रतियोगितामा केन्याकै धावक जुलियस मुरियाली वाहोम २ सेकेण्डले पछि पर्दा यस बर्ष उपविजेता हुनु भयो । १८ औं संस्करणको विजेता जुलियसले ४२ किलोमिटरको निर्धारित दुरी २ घण्टा १७ मिनेट २६ सेकेण्टमा पार गर्दै उपविजेता मात्र हुनु भएन गत बर्ष आफुले राखेको रेकर्ड समेत तोड्न सफल हुनु भयो ।

त्यसै गरी ओनेश्मस गिताओले निर्धारित दुरी २ घण्टा १८ मिनेट ५१ सेकेण्डमा पार गर्दै तेश्रो हुनु भयो । प्रतियोगितामा किरणसिंह वोगटी र निरज भट्ट क्षेत्रीले निर्धारित दुरी समान २ घण्टा ३८ मिनेट २२ सेकेण्डमा पार गर्दै शान्त्वना हुनु भयो । छैटौंमा रिखुलाल सिंजाली, सातौमा दिनेश सिंह वोगटी, आठौंमा माइकल मैथ्या, नवौंमा भुमिराज राई र दशौं स्थानमा मिन रासि बिक आउन सफल हुनु भयो ।

त्यसै गरी गण्डकी प्रदेश तर्फको म्याराथनमा निरज भट्ट क्षेत्रीले निर्धारित दुरी २ घण्टा ३८ मिनेट २२ सेकेण्डमा पार गरी प्रथम हुनु भएको छ । त्यसै गरी रिखुलाल सिंजाली मगर दोश्रो र दिनेश वोगटी तेश्रो हुनु भएको हो । भट्ट पोखरामा गत असोजमा आयोजना भएको प्रथम पर्वतीय दौड प्रतियोगितामा विजेता हुनुहुन्छ । म्याराथन प्रतियोगिताकोे विजेतालाई ५ लाख, उपविजेतालाई ३ लाख, तेश्रोलाइ २ लाख र सान्त्वना स्वरुप चौथोदेखि ८ जनालाई नगद ३० देखि १० हजार प्रदान गरिएको मञ्चका अध्यक्ष दील बहादुर गुरुङले बताउनु भयो । गण्डकी प्रदेशतर्फको म्याराथनका विजेता, उपविजेता तथा शान्त्वनालाई क्रमशः नगद रु ५०, ३०, २० हजार प्रदान गरिएको थियो ।

म्याराथन, विभिन्न दौड सहित रन फर फनमा गरी १० हजार जना दौडमा सहभागि भएकोे पूर्व अध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो । विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखराका मेयर धनराज आचार्य लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।

खुल्ला म्यारथन तर्फ गण्डकी प्रदेशका खेलाडीहरुलाई समेत प्रोत्साहन गर्न पुरस्कारको ब्यबस्था गरिएको छ । विजेतालाई ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिएकोे मञ्चका महासचिव केशव पाठकले बताउनु भयो । पोखरा रंगशालाबाट सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले गर्नु भएको थियो । उक्त दौडमा मन्त्री पौडेल सहित गण्डकी प्रदेशमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, पोखराका मेयर धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायत दौडमा सहभागि हुनु भएको थियो ।