
पोखरा,
पोखरा ८ सृजनाचोक शान्तिमार्गमा रहेको सिर्जना सेकेन्डरी स्कुलमा शनिबार एक दिने बृहत शैक्षिक प्रदर्शनी २०८१ कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सृजनशील क्रियाशील एवं व्यावहारिक बनाउँदै विद्यार्थीभित्रको अन्तर्निहित प्रतिभा उजागर गरी रचनात्मक तथा प्रयोगमुखी सिकाई गराउँदै लैजाने उद्देश्यका साथ उक्त वृहत शैक्षिक प्रदर्शनी कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक कृष्ण घिमिरेले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा १२ सम्मका विद्यार्थीहरूले विषयगत रुपमा तयार पारेका परियोजना कार्यका मोडल तथा विविध शैक्षिक सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । विद्यालयप्राड्डणका साथै कक्षा कोठामा राखिएका करिब ६० वटा स्टलहरूमा विज्ञान गणित कम्प्युटर सामाजिक नेपाली अंग्रेजी स्वास्थ्य तथा शारीरिक शिक्षा लेखा बिजनेस स्टडीटुरिजम होटलम्यानेज मेन्ट आदि विषयमा विद्यार्थीहरूले झन्डै ९०० परियोजनाका मोडलहरू प्रस्तुत गरेका थिए । उक्त प्रदर्शनीमा विद्यालयका विद्यार्थी अभिभावक भूतपूर्व विद्यार्थी छिमेकी विद्यालयका प्रिन्सिपल शिक्षक एवं विद्यार्थीहरू गरी करिब ४ हजार जनाले प्रदर्शनी अवलोकन गरेको बिद्यालयले जनाएको छ ।
विद्यार्थीहरूको सृजनशील एवं रचनात्मक कार्यलाई प्रोत्साहन गरी हौसला प्रदानगर्नका लागि तहगत एवं कक्षागत रुपमा बाह्य विषय विज्ञद्वारा मूल्याकंन गरी प्रथम, द्वितीय तृतीय स्थान छुट्याइएको थियो । विजेता विद्यार्थीहरुलाई कुनै कार्यक्रमका बीच पुरस्कृत गरिने कुरा कार्यक्रमका संयोजक कृष्ण घिमिरेले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्बिका प्रसाद आचार्यले रिबनकाटेर उद्घाटन कार्यक्रमको समुद्घाटन गरेका थिए । विशिष्ट अतिथिका रुपमा गण्डकी प्रदेश राष्ट्रिय परीक्षा बोर्डका प्रमुख गोविन्द पोखरेल र पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य रहेका थिए ।
यसैगरी अतिथिहरूमा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारी, सिर्जना सेकेन्डरी स्कुल, विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद बराल र गिधारी सुवेदी रहेका थिए ।
उक्त कार्यक्रममा विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका कार्यहरूलाई कक्षा (१–३), (४–५), (६–७), (८–९) र (११–१२) गरी तहगत एवम् विषयगत रुपमा छुट्टाछुट्टै मूल्याकङ्न गरिएको थियो । कक्षा ११ १२ को निर्णायकमा विज्ञान तर्फ कपिल अधिकारी, राजु पौडेल, नारायणदत्त वस्ताकोटी गणित तर्फ एन.एन.झा सामाजिक अध्ययन तर्फ बृहस्पति लम्साल, नेपाली तर्फ ज्ञानेश्वर सुवेदी लेखा विषय तर्फ हरि भण्डारी अङ्ग्रेजी तर्फ केशव भट्टराई अर्थशास्त्र तर्फ मित्रलाल पौडेल बिजनेस स्टडीतर्फ हरि भण्डारी र होटल म्यानेजमेन्ट तर्फ विमर्श कुँवर रहेका थिए । यसैगरी कक्षा ४–९ को निर्णायकमा नेपालीमा पुरुषोत्तम लम्साल र ज्योति चालिसे सामाजिकमा सञ्जीवराज खनाल र कञ्चन गुरुङ, विज्ञान एवं स्वास्थ्य शारीरिक शिक्षा तर्फ मेघराज तिमिल्सिना, योगेश पहारी र रामचन्द्र अधिकारी, गणितमा गुरुदत्त पौडेल, बिमल देवकोटा र शालिग्राम अधिकारी, अंग्रेजीमा शशिधर बराल, आकाश सुवेदी र भेषराज सुवेदी रहेका थिए भने कक्षा १–३ को निर्णायकमा सुनिता सुवेदी र टिका आचार्य रहेका थिए ।
कार्यक्रमलाई भव्य र सभ्य बनाउन विद्यार्थीबाट नेपाली तथा चिनियाँ भाषाका विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि आचार्यले विद्यालयलाई सिकाइको थलो बनाउँदै सिकाइलाई टिकाई राख्न व्यावहारिकतालाई मध्यनजर गरी प्रयोगात्मक एवं वातावरण मैत्री सिकाइमा ध्यानदिएकोमा विद्यालय प्रति आभार प्रकट गरेका थिए । सो अवसरमा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेको थिए भने विद्यालयका प्राचार्य डोलराज पाण्डेले विद्यालयले विद्यार्थीको सृजनशीलतालाई उजागर गर्न आफ्ना शैक्षिक गतिविधिहरू नियमति रुपमा अगाडि बढाइ रहेको कुरा व्यक्त गरे । कार्यक्रमको समापन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति परशुराम बरालले गरेका थिए भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सुबिन गुरुङले गरेका थिए ।