
दीननाथ बराल,
पोखरा २, माघ,
पोखराको चर्चीत पर्यटकीय एवं धार्मिक स्थल पुम्दीकोट क्षेत्रमा एक दिन पर्यटकको बसाई अवधि बढाउने उद्धेश्यले पुनः यही फागुन ७ गते देखि श्रीमद्भागवत ज्ञान महायज्ञ एवं महाशिवरात्री महिना हुने भएको छ । यस अघिका दुई वटा महायज्ञबाट समेत पुम्दीकोट क्षेत्रको बृहत विकासको परियोजना अपूर्ण भएकोले त्यसलाई पुरा गरी पोखराको पर्यटनको बसाई अवधि नै लम्बाउने गरी तेश्रो पटक महायज्ञ हुने तयारी गरिएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो। यसै सम्बन्धि भिडियो सामाग्रि ।
पुम्दीकोट कोट विकास समितिको आयोजनामा फागुन १५ गतेसम्म पुम्दीकोटमा संचालन हुने महायज्ञबाट संकलन भएको रकमले केही पर्यटकीय भौतिक पूर्वाधार निर्माण गर्ने योजना रहेको समितिका अध्यक्ष एवं महायज्ञका मुल संयोजक चन्द्रकान्त बरालले बताउनु भयो । पोखरा २२ (पुम्दी—भुम्दी) को पुम्दीकोटमा साँझमा लेजरलाइट मार्फत शिवको मुर्तिलाई पर्दा बनाई शिव ताण्डव नृत्य तथा महादेवको जीवनलीला सहितको बृत्तचित्र प्रर्दशन गर्ने उद्धेश्यले पुम्दीकोटमा पुनः महायज्ञ हुने भएको उहाँले जनाउनु भयो । भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म पहुचका लागि सिसाको पुल ग्लास बृज निर्माण गर्ने लक्ष्य समेत राखिएको संयोजक बरालले बताउनु भयो ।

प्रशासनिक भवन भन्दा तल्लो भागमा हरियाली उद्यान बनाउने, पुम्दिकोटका मुख्य तीन द्वारहरु छोरेपाटन, तिलार र फलेटेमा शिव धामको गेट निर्माण गर्ने, मुल मुर्तिको मर्मत सम्भार गर्ने, दान दाताहरुको नाम शिलालेख र स्तम्भ बनाउने लगायतका उद्धेश्य रहेको उहाँले जनाउनु भयो । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै ज्ञान महायज्ञको आयोजना गरिएको बताउदै अध्यक्ष बरालले ज्ञान महायज्ञ यही फागुन १५ गतेसम्म संचालन हुने जनाउनु भयो । महायज्ञ उद्घाटनको दिनमा भने फागुन ७ गते कलश यात्रा हुने समितिले जनएको छ ।
पुम्दिकोट धामको धार्मिक, एतिहासिक र पुरातात्त्विक महत्वका बारेमा प्रष्ट्याउदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्राउने पुम्दीकोटमा दिगो पर्यटनको लागि उक्त परियाजना आवश्यक भएको दाबी गर्नुभयो । यस अघि पुम्दीकोटमा २०७३ र २०७९ मा दुई पटक महायज्ञ आयोजना गरिएको थियो भने हाल तेस्रो पटक आयोजना गर्न लागिएको हो । पहिलो महायज्ञबाट करिब ६ करोड रुपिया र दोस्रो महायज्ञबाट करिब ३ करोड रुपिया संकलन गरेको उहाँले जनाउनुभयो । पुम्दिकोट ससारका धार्मिक पर्यटकहरुको थप आकर्षणको केन्द्र बन्दै गएको बताउदै उहाँले महामानव दाताहरुको सहयोगबाट हालसम्म ५१ फिट अग्लो महादेवको मुर्ती, ३१ फिट अग्लो शिवको विशाल डम्मरु, महादेवको विशाल क्षेत्रकुण्ड निर्माण, १ सय ८ धारा जडान सहित अन्तराष्टृय ध्यान केन्द्र निर्माण, २१६ शिवलिङ्ग स्थापना, १ सय ८ स्वर्गद्वारी सिढी निर्माण, सुविधा सम्पन्न शौचालय सहित प्रशासकिय भवन, फुलमाला विक्री कक्षका लागि १८ ओटा सटर निर्माण, पुम्दिकोटमा ३ वटा छुट्टाछुट्टै प्राकृतिक प्रवेशद्वार निर्माण, फुलबारी सहित पर्खाल निर्माण, मनोरेल द्वारा गणेश भगवानले कैलाश पर्वत परिक्रमा र पन्चधातुबाट निर्मित शिवलिङ्ग निर्माण लगायतका उपलब्धिहरु हासिल भइसकेका र अझैपनी कैलाश धामको बाँकी निर्माण कार्य सम्पन्न गर्न महायज्ञ आयोजना गरिएको अध्यक्ष बरालले बताउनुभयो ।
२०७३ सालमा पहिलो पटक ईश्वरकृष्ण महाराजजिबाट श्रीमद्भागवत ज्ञान महायज्ञ वाचन भएको थियो भने २०७९ सालमा शिवमहापुराण ज्ञान महायज्ञ भागवतभास्कर कमलनयन गौतमबाट वाचन भएको थियो । समाजमा बिग्रदै गएको मानसिक स्वास्थ्यलाइ आध्यात्मिक जागरण मार्फत हाम्रो मन,चित्त शुद्धीकरण गर्ने र सनातन धर्मको संरक्षण गर्दै आकर्षक धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दिकोट बनाउने मुल उद्देश्य सहित महायज्ञको आयोजना गरिएको उपाध्यक्ष नरहरी बरालले बताउनु भयो ।
महायज्ञमा प्रत्येक दिन नित्य श्रीमद्भागवत मूल पाठ, जप, लघुरुद्रा भिषेक, चण्डीपाठ, गितापाठ र हवन गरिने भएको छ । साँझपख महात्म्य श्रवण तथा भजन–कीर्तनले वातावरणलाई भक्तिमय बनाउने भएको छ । महाशिवरात्रिका अवसरमा लाख बत्ती प्रज्वलन, हवन, तिल अर्पण, पूर्णाहुति, अभिषेक तथा तिलक–प्रसाद ग्रहण लगायतका धार्मिक अनुष्ठान गरिने भएको छ । महायज्ञको समयमा पार्किङ देखि सडक यातायातमा स्थानियसंगको सहकार्यमा व्यबस्थापन गरिने पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले पोखराक्लिकलाई बताउनु भयो । उक्त महायज्ञ सफल हुनु पुम्दीकोटको विकासको कोषेढुंगाा सावित हुने उहाँले जनाउनु भयो ।
महायज्ञमा दैनिक कथा वाचन भागवत मन्जरी राधिका दासिबाट हुने भएको छ । महायज्ञ अन्तर्गत फागुन ७ गते कलशयात्रा पुर्वाङ्ग पुजा एव आरम्भ गरिने छ भने नियमित दैनिक कार्यक्रम पनि रहनेछन् । दैनिक बिहान ७ देखि १० बजेसम्म नित्यपुजा, पाठपारायण र जप, बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म भागवतमन्जरी, हरेक दिन बेलुका ५ बजे महाआरती, साझ साढे ६ बजेदेखी ९ बजेसम्म महात्म्य तथा सास्कृतिक झाँकी, फागुन १४ गते साँझ लाखबत्ती प्रज्वलन गरिनेछ भने १५ गते अपराह्न साढे ४ बजे हवन, पुर्णाहुति, अभिषेक, तिलक प्रसाद ग्रहण लगायतका कार्यक्रम हुने भएको छ ।



