
पोखरा,
पाहुना टोली वेलायतको ब्रिगेड ब्वाइज क्लवलाई पराजित गर्दै नेपालको विभागिय टोली नेपाल पुलिस क्लव पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटवल मैदानमा आज (शनिबार) भएको पहिलो क्वाटरफाइनल खेलमा पुलिसले पाहुना टोली वेलायतको ब्रिगेड ब्वाइज क्लवलाई २—० ले पराजित गर्दैै अन्तिम चारमा स्थान बनाएको हो ।
पुलिसको जितमा विवेक पाण्डे र राम वाजीले एक÷एक गोलको योगदान दिनुभयो । खेलको २८ औं मिनेटमा पाण्डेले पुलिसलाई एक गोलले अग्रता दिलाउनु भयो भने खेलको ४० औं मिनेटमा वाजीले एक गोल थप्दै जित सुनिश्चित पार्नु भयो । पाहुना टोली ब्रिगेड ब्वाइज क्लवले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै यात्रा छुट्याउनु पर्यो । आजको खेलमा पुलिसका राम वाजी म्यान अफ दी म्याच घोषित हुनु भयो ।
अन्य दिनको तुलनामा शनिबार दर्शकको सङख्या भने केही बृद्धि भएको थियो । नेपाल पुलिसले आयोजक सहारा क्लवलाई उद्घाटन खेलमा पराजित गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको थियो भने ब्रिगेड वाइजले सिधै वाई पायर क्वाटरफाइनलको यात्रा पाएको थियो ।
यसैबिच, भोलि (आइतबार) दोश्रो क्वाटरफाइनल खेलमा थ्रि स्टार क्लव बिरुद्ध मच्छिन्द्र क्लव बिच खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले बताउनु भयो । समुह बी मा रहेको मच्छिन्द्र क्लवले विभागित टोली सशस्त्र प्रहरी वलको एपिएफलाई पराजित गरी क्वाटरफाइनलमा यात्रा बनाउदा थ्रि स्टारले भने सिधै वाई पायर क्वाटरफाइनलको यात्रा तय गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।