
पोखरा २६, माघ,
पोखराको हिमालयन बोर्डिङ स्कुलले शनिबार पोखरामा सम्पन्न भएको चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को उपाधि जितेको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा हिमालयनले एल.पी. देवकोटा मेमोरियल स्कुललाई २—० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो ।

हिमालयनको जितमा रितेस आले र म्यान अफ दी म्याच घोषित संगम गुरुङले एक÷एक गोलको योगदान दिनुभयो ।
तेश्रो स्थानको लागि शनिबार भएको खेलमा ढुंगेसाँघु बोर्डिङ स्कुलले जानकी माविलाई ३—० को गोल अन्तरले पराजित गर्दै तेश्रो भएको छ । ढुंगेसाँघुको जितमा सुजन शिखाकार, म्यान अफ दी म्याच घोषित विकल मगर र सुवास बि.के.ले एक÷एक गोलको योगदान दिनुभयो ।
त्यसै गरी शनिबार पोखरा १७ का जनप्रतिनिधिहरु सहितको टोली र क्लवका सदस्यहरु बिच भएको मैत्रिपूर्ण फुटवल खेलमा जनप्रतिनिधिहरुको टोलीले ३—० ले जित हासिल गरेको प्रतियोगिताका संयोजक विनोद परियारले बताउनु भयो । प्रतियोगितामा हिमालयन बोर्डिङ स्कुलका संगम गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनु भयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा रोहन गुरुङ, उत्कृष्ट डिफेण्डरमा एल.पी. देवकोटाका सौरभ मगर, उदीयमान खेलाडीमा एल.पी.कै आर्दश थापा, उत्कृष्ट मिडफिल्डरमा हिमालयनका बादल राना, उत्कृष्ट स्टाइकरमा हिमालयनका रितेस राना, सर्वाधिक गोलकर्ताको उपाधि (८ गोल गर्नु भएको) हिमालयनका संगम गुरुङ, उत्कृष्ट प्रशिक्षकमा हिमालयनका रामबहादुर क्षेत्री घोषित हुनु भयो । प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्नु भएको महासचिव राकेश श्रेष्ठले बताउनु भयो ।
१९ टिम सहभागि भएको प्रतियोगितामा पार्दी मा.वि. अनुशासीत टीम घोषित भएको छ । क्लवका अध्यक्ष रमेश प्रसाद बरालले धन्यवाद ज्ञापन सहित प्रतियोगिता सफल पार्न सहयोग गर्नेलाई धन्यवाद सहित आभार व्यक्त गर्नु भएको छ । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवि गुरुङ, पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाही, पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्य, पोखरा १७ का पूर्व अध्यक्ष तिर्थराज अधिकारी, सहारा क्लवका अध्यक्ष केशवराज बराल, क्लवका उपाध्यक्ष प्रविन थापा, पोखरा १७ का वडा सदस्य एवं खेल संयोजक बिक्रम गुरुङ, अन्य सदस्य लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।
पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा संचालन भएकोे प्रतियोगिताले फुटवल खेलको तल्लो स्तरबाट विकास गर्न मद्धत पुगेको पूर्व अध्यक्ष पदम ढकालले जनाउनु भयो । प्रतियोगिता समापनको अवसरमा पार्दी माविका बिद्यार्थीहरुले नृत्य प्रस्तुतः गर्नु भएको क्लवका सदस्य सन्ध्या श्रेष्ठले बताउनु भयो ।