चर्च ब्वाइज युनाइटेड आहा रारा पोखरा गोल्ड कपको क्वार्टरफाइनलमा

-


     पोखरा क्लिक     
     माघ २४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २४, माघ,

चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४ औं संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालामा आज (बिहिबार) भएको तेश्रो प्रि—क्वाटरफाइनल खेलमा चर्च ब्वइजले एनआरटीलाई सडन डेथमा ६–५ ले पराजित गरी क्वाटरफाइनलमा यात्रा तय गरेको हो ।

९० मिनेटको निर्धारितमा दुवै टोलीबाट १–१ गोल र ३० मिनेटको अतिरिक्त समयमा गोल रहित बराबरीमा टुंगिए पछि टाईब्रेकरमा पनि दुबै तर्फ ४—४ गोल भए पछि खेल अन्तिम विकल्प सडन डेथमा पुगेको थियो । चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्रसिंह थापाको सडेन डेथमा पेनाल्टी सुटमा गोल गर्दा एनआरटिका माइकल मगरले प्रहार गरेको पेनाल्टी सुटमा गोल गर्न चुक्नुभयो ।

पेनाल्टीमा चर्च ब्वाइजका लागि पेनाल्टी सुटमा नवीन लामा, मिलन राई, अकिन्स बाफोर, अबायोमी फकुन्ले, टिकेन्द्रसिंह थापा र प्रशान्त लक्छमले गोल गर्दा सर्ज डिगा र राज भुसालको प्रहारलाई एनआरटीका गोलरक्षक विशाल सुनारले बचाउनु भयो । सकल रेग्मीको प्रहार भने बाहिरिएको थियो ।

एनआरटीका लागि अञ्जन विष्ट, सुमीत श्रेष्ठ, विशाल सुनार र राजिव लोप्चनले पेनाल्टी सुटमा गोल गर्दा जन्मजय धामी, रिचर्ड विल्सन र माइकल मगरको प्रहारलाई टिकेन्द्रले उत्कृष्ट बचाउँदा एञ्जल महर्जनको प्रहार बाहिरिएको थियो । खेलको २४ औं मिनेटमा रिचर्ड विल्सनको गोलमार्फत एनआरटीले अग्रता लिए पनि खेलको ६३औं मिनेटमा नवीन लामाले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गरी गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा पुर्याउनु भयो ।

चर्च ब्वाइजले साबिक विजेता त्रिभुवन आर्मी फुटबल क्लबसंग अब सेमिफाइनलमा भिड्ने भएको छ । यसैबिच, भोलि (शुक्रबार) भारतको थन्डरबोल्ट नर्थ यूनाइटेड र संकटा क्लव बिचको अन्तिम प्रि—क्वाटरफाइनल खेल हुने भएको प्रतियोगिताका संयोजक पूर्णबहादुर गुरुङले जनाउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन रारा तयारी चाउचाउ रहेको छ ।

फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा ३ विदेशी सहित १२ टिमको सहभागिता रहेको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबल मार्फत सामाजिक कार्य गर्दै आएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । तष्विरः शुर्दशन रञ्जित