
दीननाथ बराल,
पोखरा २४, माघ,
जिल्ला खेलकुद विकास समिति कास्कीले सम्भवत पहिलो पटक पोखरा रंगशालाको आम्दानी र खर्च लगायतको बिषयमा आय व्यय सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखराका मेयर धनराज आचार्य, केही खेल संघ तथा केही पत्रकार माझ विहिबार समितिले वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रम सहित रंगशालाको आय तथा व्यय सार्वजनीक गरेको हो ।

जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले आफुहरुको कार्यकाल सकिन लागेकोले हालसम्म संस्थाको कुनै पनि सामानहरु बुझि बुझारक नभएको बताउनु भयो । संस्थामा लागेदेखि व्यक्तिगत रुपमा आफ्नो ३ लाख बढी खर्च भएको व्यक्तिगत कुनै स्वार्थ नलिएको उहाँको दाबी थियो । पोखरा रंगशालामा विभिन्न खेलकुद आयोजना गर्दा केही समय अघि देखि निश्चित शुलक लिने परिपार्टीको सुरुवात गरिएको अध्यक्ष बानियाले जनाउनु भयो । समितिले २०८०÷८१ मा विभिन्न शिर्षकमा गरी ३५ लाख २४ हजार ६ सय २५ रुपैया आम्दानी गर्न सफल भएको कोषाध्यक्ष अभिषेश थापाले बताउनु भयो ।
रंगशालामा रहेका १६ वटा खेल मैदान तथा सभाहल तथा हभर्डहलबाट निश्चित शुल्क लिन थालेको सचिव कन्चन थापाले बताउनु भयो । स्थानीय स्तरको प्रतियोगिताको लागि न्यूनतम ३ हजार देखि अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको ५५ हजारसम्म प्रतिदिनको भाडा शुल्क निर्धारण गरिएको छ ।
समितिले एक बर्षमा कर्मचारीलाई तलव, बिद्युत महशुल सहितका विभिन्न शिर्षकमा खर्च गरी ९ लाख ८० हजार ८ सय ५१ रुपैया बचत गर्न सफल भएको उहाँले जनाउनु भयो । त्यसै गरी संस्थाले चालु आर्थिक बर्षको ६ महिनामा १९ लाख ४४ हजार १ सय १० रुपैया आम्दानी गर्न सफल भएको छ भने १५ लाख १८ हजार ७ सय ७१ रुपैया खर्च भई ४ लाख २५ हजार ३ सय ३९ रुपैया बचत भएको समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले बताउनु भयो ।
यसैबिच, कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले आउँदो आर्थिक बर्षको बजेट बनाउदा खेलाडीहरुको मनोवल उच्च हुने गरी बजेट ल्याउने वचन दिनु भएको छ । खेलकुदकर्मी सहित खेल विज्ञहरुको सल्लाह र सुझाव अनुसार प्रदेशका खेलाडी, खेलकुदको विकासको लागि प्रदेश सरकार कटिवद्ध भएको बताउदै उहाँले पोखरालाई खेलकुदको शहर बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताउनु भयो । खेलाडी, खेलसंस्था र सर कारबीच सहकार्य अपरिहार्य भएको बताउदै मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
खेलकुद केवल व्यक्तिगत उपलब्धिसँग सीमित नरही प्रदेशको समृद्धि, पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय पहिचानका लागि पनि महत्वपूर्ण क्षेत्र भएकाले प्रदेश सरकारले लगानी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखरा रंगशालाको स्वामित्व संघिय सरकार अन्र्तगत संरक्षण गर्न कठिन हुने हुदा यसलाई पालिका वा प्रदेशलाई स्वामित्व दिनुपर्ने मन्त्री थापाले जनाउनु भयो । खेलकुद क्षेत्रलाई राजनीतिककरण नगर्न उहाँले आग्रह गर्नुभयो । करिब ४ सय १५ रोपनी क्षेत्रफलमा रहेको पोखरा रंगशालामा १६ भन्दा बढी खेलकुद प्रतियोगिता गर्न आवश्यक मैदान तथा कोर्ट, कर्भडहल लगायतका संरचना रहेका छन्।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले खेलेर पनि बाच्न सक्ने अबस्था आउन लागेको बताउदै खेलकुदमा राजनीतिक गर्न नहुने बताउनुभयो । महानगरभित्रका खेलकुदका संरचनाहरु महानगरलाई वा प्रदेश सरकारले स्वामित्व दिने प्रष्ट रुपमा हस्तान्तरण गनुपर्ने अन्यथा त्यसको संरक्षणमा समस्या आउने उहाँले जनाउनु भयो । पोखरामा भएका हरेक प्रकारका खेलकुद सम्बन्धि कार्यक्रममा महानगरको साथ रहेको उहाँले उल्लेख गर्नु भयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य डा.मधुशुधन सुवेदीले सबैको अपनत्व हुने गरी खेलकुदका भौतिक संरचनाहरु संरक्षण सहित प्रयोग गर्नुपर्ने बताउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुुुमार गुरुङले खेल क्षेत्रमा धेरै विकृति भएकोले व्यबस्थित गर्न आवश्यक भएको बताउनु भयो ।
राष्ट्रिय तथा अन्त्राष्ट्रिय खेलाडी संघ कस्कीका अध्यक्ष राजन पौडेलले समितिले खेलाडी उत्पादन गर्न, खेलाडी प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन, खेल प्रशिक्षकको आवश्यक दरवन्दी पुर्ति गर्न भन्दा समिति रंगशालामा पैसा अशुलक तर्फ केन्द्रित हुने गरेको गुनासो गर्नु भयो । समितिमा कति खेल संघहरु अध्यावधिक भएका छनत भन्ने पोखराक्लिकको प्रश्नमा अध्यक्ष बानियाले न्यून सङख्यामा रहेको उल्लेख गर्नु भयो ।
उक्त कार्यक्रममा खेल क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, खेलाडी, प्रशिक्षक, पत्रकार तथा सरोकारवालाहरूको न्यून उपस्थिति रहेको थियो । सहभागीहरूले खेल क्षेत्रमा देखिएका समस्याको हल गर्न सुझाव दिदै रंगशालामा निर्माण भएका भौतिक संरचनाको उचित ढंगले संरक्षण हुन नसकेको, खेलाडी उत्पादन गर्न खासै ध्यान नपुगेको, खेल संघहरुले समयमै अध्यावधिक नगरेको, खेलकुद क्षेत्रमा धेरै प्रकारको विकृति र विसङगती रहेको उल्लेख गर्नु भएको थियो ।