डिफेण्डिङ च्याम्पियन शान्ति निकुन्जको विजयी सुरुवात, अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता पोखरामा जारी

-


     पोखरा क्लिक     
     माघ २१ गते २०८१ मा प्रकाशित


पोखरा २१, माघ,

डिफेण्डिङ च्याम्पियन शान्ति निकुन्ज बोर्डिङ स्कुलले विजयी सुरुवात गरेको छ । पोखरामा जारी चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ अन्र्तगत सोमबारको खेलमा साविक विजेता शान्ति निकुन्जले गुप्तेश्वर वेद विज्ञान पाठशालालाई ७–० को एक तर्फी फराकिलो गोल अन्तरले पराजित गर्यो ।

शान्ति निकुन्जको जितमा म्यान अफ दी म्याच घोषित इन्द्र बहादुर बि.क.ले ह्याट्रिक, टानसेन जुग्जालीले २ र सवनिल अधिकारीले एक गोलको योगदान दिनु भयो । उक्त प्रतियोगितामा पहिलो पटक सहभागि भएको गुप्तेश्वर वेद विज्ञानको टोलीले शान्ति निकुन्जलाई एक गोल उपहार दियो । गुप्तेश्वर वेद विज्ञानका हेमराज कंडेललाई प्रोत्साहन स्वरुप ट्रफी प्रदान गरिएको थियो ।

पोखराको ड्याम साइड क्लवको आयोजनामा सोमबार भएको पहिलो खेलमा भने एल.पी. देवकोटा मेमोरियलले छोेरेपाटन माविलाई सडेन डेथमा पराजित गर्यो । निर्धारित समयमा दुबै तर्फ गोल रहित बराबरीमा पुगे पछि टाईब्रेकरमा पनि दुबै तर्फ ३÷३ गोल भए पछि सडेन डेथमा एल.पी.देवकोटाले जित हासिल गरेको हो । टाईब्रेकरको सडेन डेथमा ६–५ को गोल अन्तरले एलपीले जित हात पार्न सफल भयो । सडेन डेथमा छोरेपाटनका अरुन लिम्बुले पेनाल्टी सुटमा गोल गर्न चुक्दा एलपीका सफल रेग्मीले पेनाल्टीमा गोल गर्नु भएको हो । एलपीका प्रिन्स गुरुङ खेलमा म्यान अफ दी म्याच घोषित हुनु भयो ।

सोमबारको दोश्रो खेलमा श्री जानकी माविले बालोदय बोर्डिङ स्कुललाई टाईब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्यो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा धकेलिएको हो । श्री जानकीका गोलरक्षक प्रबेश श्रेष्ठ खेलमा म्यान अफ दी म्याच घोषित हुनु भयो । क्लवका पूर्व खेलाडी हाल अमेरीकामा बस्दै आउनु भएको कुमार शेरचन, अध्यक्ष बराल लगायतले म्यान अफ दी म्याच ट्रफी वितरण गर्नु भएको थियो । तेश्रो खेलमा ओम एकेडेमीले सहज जित दर्ता गर्यो । प्रतियोगितामा एक्स आर्मी पब्लिक स्कुल सहभागि नभई वाकओभर दिएसगै ओम एकेडेमीले दोश्रो चरणमा यात्रा बनाएको हो ।

त्यसै गरी भोलि (मंगलबार) पहिलो चरणका ४ खेल हुने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताउनु भयो ।
यसैबिच, यही माघ २६ गतेसम्म संचालन हुने प्रतियोगितामा १९ बिद्यालयको सहभागिता रहेको क्लवका अध्यक्ष रमेश प्रसाद बरालले बताउनु भयो । ७ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।