
पोखरा २०, माघ,
पोखराको ड्याम साइड क्लवको आयोजनामा आज (आइतबार) देखि चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ सुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा सुरु भएको प्रतियोगिता गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आइतबार दुई खेल सम्पन्न भएका छन् ।

आइतबार भएकोे उद्घाटन खेलमा शिशु निकेत माविले विजयी सुरुवात गरेको छ । शिशु निकेतले पोखरा किन्डरगार्डेन माविलाई टाईब्रेकरमा ५—३ को गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २५÷२५ मिनेटको निर्धारित समयमा दुबै तर्फ एक÷एक गोलले खेल बराबरीमा टुंगिए पछि खेल टाईब्रेकरमा धकेलिएको हो । शिशु निकेतका आद्धित्य बराल र पोखरा किन्डरगार्डेनका चिन बहादुर थापाले एक एक गोल गर्नु भएको थियो ।

टाईब्रेकरमा पोखरा किन्डरगार्डेनका सफल थापाले प्रहार गरेको पेनाल्टी सुट शिशु निकेतनका गोलरक्षक सक्षम ढकालले उत्कृष्ट बचाउ गरी टिमलाई दोश्रो चरणमा पुर्याउनु भयो । शिशु निकेतका युनिक गुरुङ, आद्धित्य बराल, आविश्कार क्षत्री, उत्तम सुनार र सक्षम ढकालले पेनाल्टीमा गोल गर्दा पोखरा किन्डरगार्डेनका चिन बहादुर थापा, युजन गुरुङ , लोकेस बहादुर मगरले गोल गर्नुभयो । शिशु निकेतनका सक्षम ढकाल म्यान अफ दी म्याच घोषित हुनु भयो ।

दोश्रो खेलमा हिमालयन बोर्डिङ स्कुल विजयी भएको छ । हिमालयनले बिद्या निकेत माविलाई १–० को झिनो गोल अन्तरले पराजित गर्यो । हिमालयनको जितमा म्यान अफ दी म्याच घोषित बादल रानाले निर्णायक एक गोल गर्नु भएको हो ।
त्यसै गरी भोलि (सोमबार) पहिलो चरणका ४ खेल हुने भएको प्रतियोगिताका संयोजक विनोद परियारले बताउनु भयो ।
यसैबिच, यही माघ २६ गतेसम्म संचालन हुने प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले फुटवल खेलको विकासको लागि क्लवले बिद्यालयस्तरकै फुटवल खेल आयोजना गर्दै आएकोले उक्त कार्यक्रमलाई सफल पार्न सहयोग गर्दै आएको बताउनु भयो ।
क्लवका अध्यक्ष रमेश प्रसाद बरालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा पोखरा १७ का वडा सचिव सुरेन्द्रराज शर्मा, वडा सदस्य एवं खेल समिति संयोजक बिक्रम गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक गोदार, क्लवका सचिव प्रमेन्द्र थापा, सदस्य सन्ध्या श्रेष्ठ लगायतले खेलका बारेमा वोल्नु भएको थियो । प्रतियोगितामा १९ वटा बिद्यालयको सहभागिता रहेको क्लवका निवर्तमान अध्यक्ष प्रताव गुरुङले बताउनु भयो । ७ दिनसम्म चल्ने प्रतियोगिताको विजेता टिमले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने टिमले भने ५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण—पत्र प्राप्त गर्ने भएका छन् ।
हरेक खेलको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी प्रदान गरिने भएको छ भने प्रतियोगितामा सर्वोउत्कृष्ट सहित सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेण्स, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्टाइकर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई समेत ट्रफी प्रंदान गरिने भएको क्लवका महासचिव राकेश श्रेष्ठले बताउनु भयो ।
त्यसै गरी प्रतियोगितामा अनुशासित टिम र उदीयमान खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।
गत बर्षको विजेता शान्ति निकुन्ज बोर्डिङ स्कुल रहेको थियो । खेलकुदको शहर पोखरामा विगत २०५९ सालदेखि खेलकुद, पर्यटन र सामाजिक कार्यमा सक्रिय हुदै आएको क्लवले विश्वकै चर्चीत खेल फुटवल खेलको तल्लोस्तर (ग्रासरुट) बाट विकास गर्ने उद्धेश्यले विगत ३ बर्ष देखि उक्त प्रतियोगितालाई निरन्तरता दिदै आएको पूर्व अध्यक्ष पदम ढकालले जनाउनु भयो ।