मदरल्याण्ड माविका ६ कर्मचारीलाई दीर्घसेवा सम्मान

-


     पोखरा क्लिक     
     माघ २० गते २०८१ मा प्रकाशित


पोखरा, माघ २०,

यहाँस्थित मदरल्याण्ड माविले ६ जना कर्मचारीलाई दीर्घ सेवा सम्मान प्रदान गरेको छ । शिक्षक तथा कर्मचारीको रुपमा २० वर्षदेखि कार्यरत उनीहरुलाई आइतबार सम्मान गरिएको हो । पोखरा महानगरपालिका–७, मासबारस्थित विद्यालयलमा गत शुक्रबारदेखि सुरु भएको तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रमको अन्तिम दिन (आइतबार) उनीहरुलाई सम्मान गरिएको विद्यालयले बताएको छ ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार विद्यायले हरेक वर्ष २० वर्ष कार्यकाल पुरा गरेका शिक्षक तथा कर्मचारीलाई दीर्घसेवा सम्मान प्रदान गर्दे आएको बताए । आचार्यका अनुसार यो पटक वृहस्पती विक, इन्द्रकुमारी गुरुङ, सविता थापा, अप्सरा कार्की, कल्पना अर्याल र चन्दना थापालाई दीर्घ सेवा सम्मान प्रदान गरिएको हो । ‘दुईदशक अवधि एउटै संस्थामा कार्यरत रहेर ठूलो योगदान दिनुभएको छ,’ आचार्यले भने, ‘कर्मचारीको मनोबल बढाउन पनि यस्तो सम्मान आवश्यक पर्छ ।’ विद्यालयका प्राचार्य डा. नारायण बरालले विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको बताए । पहिलो दिन गत शुक्रबार नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाएका थिए भने आइतबार अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्केका थिए ।

विद्यार्थीमा आत्मबल बढाउन यस्ता कार्यक्रम सहयोगी बन्ने उनले बताए । कक्षाकोठामा पाठ्यपुस्तकको आत्मबल मात्र नभई समाजप्रतिको दायित्व, समूहमा नाच्दा सामुहिकताको भावना जागृत गराउन यस्ता कार्यक्रम आवश्यक हुने उनले बताए । तीनदिन अवधिमा करिब २५ सय विद्यार्थीले नृत्य गरेको उनले बताए । अहिलेको सिकाईले आगामि दिनमा अझै अघि बढ्न सघाउने पनि बरालले बताए । स्टेजमा देखाएको कार्यक्रमले उनीहरुमा ‘म सक्छु’ भन्ने भावना विकास हुने बरालले बताए ।
‘विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि वार्षिक सांस्कृतिक कार्यक्रम गरिएको हो,’ उनले भने, ‘यसले विद्यार्थीमा चेतनाको पनि वृद्धि हुन्छ ।’ विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नराखि उनीहरुमा रहेको आत्मविश्वास र क्षमतालाई बाहिर देखाउनका लागि पनि यस्ता कार्यक्रम जरुरी रहेको बरालले बताए । आइतबार दीर्घ सेवा पाउने कर्मचारी बाहेक विभिन्न क्षेत्रमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

आइतबारको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीमा लुकेको प्रतिभा बाहिर ल्याउनका लागि यस्ता गतिविधि आवश्यक रहेको बताए । कतिपय विद्यार्थीले अवसर नपाउँदा आफुमा रहेको क्षमता देखाउन नपाउने उनले बताए । ‘विद्यार्थीको भित्रभित्रै लुकेको प्रतिभा बाहिर ल्याउनका लागि विद्यालयले पनि पहल गर्नुपर्छ । कुनै पनि क्षेत्रमा अब्बल व्यक्ति पहिचान गर्ने ठाउँ नै विद्यालय हो,’ उनले भने । बाबुनानीको सुन्दर भविश्यको लागि अभिभावकमा चेतना भएजस्तै विद्यालयले पनि त्यस्तै अभ्यास गरेको उनले बताए । विभिन्न प्रतिश्पर्धामा सहभागि गराएर प्रतिभाहरु जन्माउन सफल भएको उनले बताए ।

विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा बरालले विद्यालयले गरेको कार्यक्रममा विद्यार्थीले आफ्नो प्रस्तुती मार्फत खुबी देखाउने मौका पाएको बताए । तीनदिनको यो कार्यक्रममा विद्यालयमा १ सय २५ वटा सांस्कृतिक गतिविधि गरिएको उनले बताए । ‘विद्यार्थीमा क्षमता रहन्छ । तर, उनीहरुले त्यो क्षमता देखाउने ठाउँ नपाउन सक्छन । विद्यालयले त्यो मैदान उपलब्ध गराईदिएको छ,’ उनले भने, ‘हरेक वर्ष विद्यालयले यस्तै कार्यक्रम गरेर विद्यार्थीमा लुकेको प्रतिभा बाहिर देखाइदिने हो ।’ विद्यालयले तीनदिन अवधिमा भजन, योगादेखि विभिन्न नृत्य समेत प्रस्तुत गरेका थिए । विद्यालयका विद्यार्थीले पस्कने योगा र भजनले धेरै अभिभावकको मन जितेको उनले बताए ।