माघ २२ गते देखि हुने २४ औं आहा ! रारा पोखरा गोल्ड कपमा उज्विकिस्तानको ब्ल्याक बुल्स एफ.सी. सहभागि हुने

-


     पोखरा क्लिक     
     माघ १७ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १७, माघ,

खेलकुदको शहर पोखरामा यही माघ २२ गते देखि सुरु हुने २४ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता–२०८१ मा उज्विकिस्तानको ब्ल्याक बुल्स एफ.सी.सहभागि हुने भएको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा संचालन हुने उक्त प्रतियोगितामा पहिलो पटक उज्विकिस्तानको उक्त टोली सहभागि हुने भएको क्लवले जनाएको छ ।

उज्विकिस्तान सहित प्रतियोगितामा ३ विदेशी सहित १२ टिम सहभागि हुने भएको क्लवका अध्यक्ष केशवराज बरालले बताउनु भयो । प्रतियोगितामा भारतको थन्डर नर्थ यूनाइटेड क्लव, वेलायतको ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, थ्रि स्टार क्लव, चर्च ब्वाइज युनाइटेड क्लब, संकटा फुटबल क्लव, एनआरटि फुटवल क्लव, नेपाल पुलिस क्लब, एपिएफ फुटवल क्लव र आयोजक सहारा क्लव सहभागि हुने भएको क्लवले जनाएको छ ।

‘आत्मा साक्षी राखी मन वचन र कर्मले सामाजिक सेवा गरौं’ भन्ने उद्देश्य अनुरुप फुटबल मार्फत सहारा क्लब सामाजिक सेवा निरन्तर क्रियाशील रहेको महासचिव अधिकारीले जनाउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । गत वर्षको विजेता त्रिभुवन आर्मी फुटबल क्लब र उपविजेता थ्री स्टार क्लब ललितपुर हुन् । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने भएको छ । पोखरा रंगशालाको फुटवल मैदानमा हिजोआज हाल पानी हालेर मैदानमा दुवो उमार्ने काम भएको क्लवले पोखराक्लिकलाई जनाएको छ ।