टाइगर कप भलिबलः भोलि लिगका अन्तिम चरणका खेल हुने

-


     पोखरा क्लिक     
     माघ १५ गते २०८१ मा प्रकाशित


पोखरा १५, माघ,

एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत भोलि बुधबार लिग चरणका ४ खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी उक्त प्रतियोगिताको पाँचौं दिन भोलि महिला र पुरुषतर्फ दुईदुई खेल हुने तालिका छ ।

पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।

भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ । भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतबार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।
आज भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको थियो । यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो ।
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटले पराजित गरेको हो । पहिलो सेटमा २५–१३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट २१–२५ ले पुलिसलाई सुम्पिएको थियो । तेस्रो सेट र चौथो सेटमा पुनरागमन गर्दै आर्मीले खेल आफ्नो पोल्टामा पा¥यो । आर्मीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–२२ ले जित हासिल ग¥यो । ‘जित्ने समूह’ अब आर्मीले भोलि भारतको सुनिल भलिबल क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

यो समूहबाट शीर्ष दुईमा रहने टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुंगो लागेको छ । एक खेलअगावै आयोजक टोली र एपिएफले पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो । पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन् । पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइलन प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।



This will close in 20 seconds