लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता पोखरामा हुने

-


     पोखरा क्लिक     
     माघ ९ गते २०८१ मा प्रकाशित


पोखरा, ९ माघ,

लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । २०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ ।

प्रतियोगितामा ४० भन्दा बढी टिमले सहभागिता जनाउने अपेक्षा गरिएको प्रतियोगिताका संयोजक नजिम अलीले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा ४०–५० टिमको सहभागिता हुने अपेक्षा आयोजकको छ । पोखरा–१३ मा रहेको माछापोखरी फुटबल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ४० हजार र द्धितीय हुने टिमले ८५ हजार पुरस्कार पाउने खेल संयोजक अलीले जानकारी दिए । तेस्रो संस्करणमा प्रथम पुरस्कार १ लाख २५ हजार र द्धितिय पुरस्कार ७५ हजार बाट बढाएर यस पटक पुरस्कार राशी बृद्धी गरिएको अध्यक्ष अलिमियाँले बताए । यस्तै विधागत तर्फ ५ विधामा खेलाडीलाई पुरस्ककृत गरिने छ । वेष्ट फरवाड, मिड–फिल्डर, डिफेन्सर, गोलकिपर र हाइस्केररलाई नगद ५÷५ हजारले पुरस्कार पाउने छन् ।

प्रतियोगिताको पहिलो संस्करण २०७२ र दोस्रो संस्करण २०७४ सालमा भएको थियो । स्थानीय खेलाडीलाई प्रोत्साहन र फुटबलको विकास गर्ने उदेश्यसहित समाजले प्रतियोगिता संचालन गदैँ आएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख ८० हजार खर्च लाग्ने आयोजकको अनुमान छ । समितिले टिम दर्ताका लागि ७ हजार रुपैया तोकेको छ ।