सिक्लेसको पर्यटन प्रबद्र्धन गर्न सिक्लेस माघे संक्रान्ति मेला हुने, आगन्तुक पाहुनालाई होमस्टे तथा होटलमा छुट

-


     पोखरा क्लिक     
     पौष २८ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २८, पुष,

कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा आउँदो माघ १ गते देखि सिक्लेस माघे संक्रान्ति मेला हुने भएको छ । सिक्लेस युवा क्लबको आयोजनामा गाँउ पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त मेला माघ ४ गतेसम्म हुने भएको आइतबार(आज) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

गुरुङ समुदायको कला, संस्कृति, परम्पराको संरक्षण गर्दै खेलकुद क्षेत्रको समेत प्रबद्र्धन गर्न उक्त मेला आयोजना गरिएकोे क्लबका अध्यक्ष भोलामान गुरुङले बताउनु भयो । ‘ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला’ मूल नारा सहित आयोजना हुने मेलाका मुख्य आकर्षणको रुपमा खुल्ला पुरुष तथा महिला भलिवल, खुल्ला पुरुष वास्केटवल, गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगिता हुने भएको उहाँले जनाउनु भयो । पुरुष भलिवल प्रतियोगितामा विजेतालाई १ लाख उपविजेतालाई ७० हजारर महिला तर्फ विजेतालाई ३० हजार र उपविजेतालाई २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ ।

खुल्ला पुरुष बास्केटवल प्रतियोगिताको विजेतालाई १ लाख उपविजेतालाई ७० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । त्यस्तै गुरुङ भाषा गीतमा सामुहिक नृत्य प्रतियोगितामा विजेतालाई ६० हजार र उपविजेतालाई भने ४५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुहुने छ । त्यसै गरी मेलामा विगत लामो समय देखि संचालन हुदै आएको ठेलो प्रतियोगिता समेत हुने भएको छ । ठेलोमा प्रथम हुनेलाई ४५ र दोस्रो हुनेलाई ४० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

०५२ सालमा स्थापित क्लबले ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमले गाउँको पर्यटन प्रबद्र्धनमा टेवा पुगेको मादी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष देविजंग गुरुङले बताउनु भयो । मेलाको अवसरमा सिक्लेसमा रहेका होटल तथा होमस्टेमा १० देख २० प्रतिशत छुटको व्यबस्था मिलाएको उहाँले जनाउनु भयो ।

पर्यटकीय आकर्षणका रुपमा रहेका क्हफुचे हिमताल, कोरी पदयात्रा र क्होलासोंथर जाने मार्गको गेटव ेसमेत सिक्लेसमा पर्दछ । उक्त मेलाबाट १३ लाख ५ हजार आम्दानी गर्नै लक्ष्य राखिएको छ भने खर्च तर्फ ११ लाख ३० हजार रहेको क्लवले जनाएको छ ।