सहारा क्लब र दृष्टि आँखा हस्पिटल बीच सम्झौता

-


     पोखरा क्लिक     
     पौष २८ गते २०८१ मा प्रकाशित


पोखरा, २८ पुस,

दृष्टि आँखा हस्पिटल प्रालि सहारा क्लब पोखरासँग जोडिएको छ । पोखरा–९, नयाँबजारस्थित उक्त हस्पिटलले फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लबसँग विभिन्न विषयमा सहयोग सम्झौता गरेको हो । सो सम्बन्धमा आइतबार क्लब अध्यक्ष केशवराज बराल र हस्पिटल अध्यक्ष शिव पोखरेलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले जानकारी दिए ।

थकालीअनुसार हस्पिटलले बर्सेनि आहारारा पोखरा गोल्डकपलाई ५० हजार रुपैयाँ सहयोग गर्नेछ । यस्तै, प्रतियोगिताका बेला खेलाडीलाई आँखासम्बन्धी चोटपटक लागे प्राथमिक उपचार निःशुल्क गर्नेछ भने दर्शकको समेत प्राथमिक उपचार निःशुल्क गर्ने सहमति भएको हो । त्यसका लागि हस्पिटलले प्रतियोगितास्थल पोखरा रंगशालामा प्राथमिक उपचारका लागि स्टल राख्नेछ । थकालीले उत्साहित हुँदै भने, ‘अझ महत्वपूर्ण त एकेडेमीका बालकहरुको जुनसुकै बेलामा पनि आँखाको चेकजाँच निःशुल्क गर्ने भएको छ ।’ सम्झौताबीच पूर्व अध्यक्ष विक्रम थकाली, प्रतियोगिताको अर्थ संकलन उपसमिति संयोजक एवं क्लब सल्लाहकार सुनिल गुरुङलगायत उपस्थित थिए ।

क्लबले पोखरा १७, दोबिल्लामा संचालन गरेको स्व। सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा चौंथो ब्याचका रुपमा हाल ३० जना बालकहरु आश्रित छन् । क्लब अध्यक्ष बरालले २४ औं आहा रारा पोखरा गोल्डकपको मिति नजिकिँदै जाँदा क्लबको पवित्र कार्यमा सहयोगी हातहरु पनि बढेको भन्दै प्रसन्नता व्यक्त गरे । क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आयोजना गर्ने प्रतियोगिताको तयारी तीव्र पारेको छ । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ हो । चितवनको जयश्री फुड्स प्रालिको उत्पादन बास्मती प्रिमियम राइसले सहप्रायोजकवापत ५ लाख रुपैयाँ सम्झौता गरिसकेको प्रतियोगिता संयोजक एवं क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

१२ टिमले भाग लिने प्रतियोगितामा हालसम्म १० टिमको छिनोफानो भएको छ । जसमा त्रिभुवन आर्मी क्लब, थ्रि स्टार, मछिन्द्र, नेपाल पुलिस क्लब, एपिएफ, संकटा, चर्च ब्वाइज युनाइटेड, एनआरटी, ब्रिगेड ब्याइज फुटबल क्लब युके र आयोजक सहारा क्लब पोखरा अनुबन्ध भएको क्लब अध्यक्ष ले बताउनु भयो