ललितकला पुरस्कार वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई

-


     पोखरा क्लिक     
     पौष २६ गते २०८१ मा प्रकाशित


पोखरा, २६ पुष,

पोखरेली युवा सांस्कृतिक परिवारले कलामा क्रियाशील स्रष्टालाई दुई दुई वर्षमा प्रदान गर्ने ललितकला पुरस्कार २०८० बाट कलामा सिङ्गो जीवन समर्पित गर्ने वरिष्ठ कलाकार प्राध्यापक राधेश्याम मुल्मीलाई पुरस्कृत गर्ने भएको छ । सन् १९५० मा जन्मेका मुल्मीले १९७८ मा पञ्जाब विश्वविद्यालयको ललित कला विभागबाट ग्राफिक डिजाइनमा एमएफए पूरा गरे ।

उनीले स्टेज टेक्निक र लाइटनिङमा विशेष तालिमका साथै ग्राफिक आर्टमा अतिरिक्त प्रशिक्षण समेत लिएका छन् । उनी त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहप्राध्यापक र त्रिभुवन विश्वविद्यालयको ललितकला क्याम्पसमा सहायक क्याम्पस प्रमुखको रूपमा कार्यरत रहि हाल सेवा निवृत्त भैसकेका छन् ।

वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार २०८० पाउने वरिष्ठ कलाकार राधेश्याम मुल्मी पोखरामा जन्मेका क्रियाशील नेपाली समकालीन कलामा अब्बल कलाकार मानिन्छन् । १७ वर्षकै उमेरमा गण्डकी अञ्चलस्तरीय कला प्रतियोगितामा प्रथम भएका यिनले पाकिस्तानमा भएको पोष्टर प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै, पुस्तक आवरण प्रतियोगितामा पनि पाकिस्तानमा यिनी प्रथम भएका हुन । वि।सं। २०३७ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको कार्टुन प्रतियोगितामा पनि यिनी प्रथम भएका हुन् । प्रबल गोरखा दक्षिण बाहुसम्म प्राप्त गर्न सफल यिनी कलाकारले थुप्रै खालका कला क्षेत्रहरुमा आफ्नो मर्महरु पोख्न पाएका छन् । तत्कालीन शाही नेपाल वायुसेवा निगम र शाही नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका डिजाइनर समेत रहेर काम गरिसकेका छन् ।

सन २००६ ताका नेपाल कला परिषद काठमाडौमा भव्य एकल चित्रकला प्रदर्शनी गरेका मुल्मीले नेपाल, भारत, पाकिस्तान, जर्मनी, जापान, दक्षिण कोरियामा एकल तथा सामूहिक प्रदर्शनी गरिसकेका छन् । कलाकार्यशाला अन्तर्गत बिभिन्न देश लगाएत नेपालका थुप्रै ठाउँहरुमा आफ्नो कला देखाइ सकेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार बाट सम्मानित मुल्मीले नेपाली कलाको विभिन्न विधाको उन्नयनमा पु¥याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०८० प्रदान गर्न लागिएको प्रतिभा छनौट समितिका संयोजक नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान प्राज्ञ परिषद सदस्य वरिष्ठ कलाकार बुद्धि गुरुङले जानकारी दिएका छन् ।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्की , मुकेश मल्ल, लोकप्रसाद गुरुङ, राजन काफ्ले र आलोक गुरुङ पुरस्कृत भइसकेका छन् । वरिष्ठ कलाकार दुर्गा बराल र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा आगामी माघ ५ गते शनिबार नगद, ताम्रपत्र र दोसल्ला सहित पोखरामा पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष रीता अधिकारीले जानकारी दिएकी छन् ।



This will close in 20 seconds