घलेल ल्होछार उत्सव सकियोः घान्द्रुक किम्चेलाई भलिबलको उपाधि

-


     पोखरा क्लिक     
     पौष २३ गते २०८१ मा प्रकाशित


पोखरा, २३ पुस,

तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा सम्पन्न २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ । आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो ।

उपाधिसँगै घान्द्रुक किम्चेले नगद रु ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको धम्पुसलाई नगद रु ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उक्त प्रतियोगिताबाट किम्चेका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले गो बन्जी नेपालबाट बन्जी जम्पको अवसर प्राप्त गरे । यस्तै महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुरले हर्स राइडर समूह छोम्रोङलाई २–० को सोझो सेटमा पराजित गर्दै एलिट च्याम्पियन बन्यो ।

उनीहरुले क्रमशः ३० हजार, २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । सो खेलबाट एलिट भलिबलकी पुजा सेन ठकुरी सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै प्रौढतर्फ युनाइटेड किङ्स क्लबले छारमेन्दो तक्रोलाई २–१ को सेटले हराउँदै किङ्स विजयी बन्यो । उनीहरुले क्रमशः बोका ९ठुलो० र उपविजेताले बोका ९सानो०सँगै ट्रफी मेडल र प्रमाणपत्र हात पारे । उक्त विधामा किङ्सका राम छन्त्याल सर्वोत्कृष्ट खलाडीका रुपमा पुरस्कृत भए । घोडा दौडतर्फ घान्द्रुकका हितमान गुरुङ च्याम्पियन बने । लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७।७४ सेकेन्डमा पार गरे ।

यस्तै गरी विवेक पुन ९८ मिनेट ३१।५७ सेकेन्ड० द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा ९८ मिनेट ५०।५० सेकेन्ड० तृतीय बने । प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमशः नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
यस्तै सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बन्यो भने, पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्दै क्रमशः ३० हजार र २० हजार तथा प्रमाणपत्रसहित पुरस्कत भए ।

उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुुर गुरुङ, वडा ८ का वडाध्यक्ष राम गुरुङ, वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम समाजसेवी बम बहादुर गुरुङ ९नगद रु १ लाख सहयोग० क्लबका सल्लाहकारहरु, सहयोगीदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

बौद्ध सृजना युवा क्लबको आयोजनामा गत १५ गतेबाट सुरु भएको उत्सवमा यसअघि खुला सामुहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।