
दीननाथ बराल,
पोखरा १५, पुष,
पोखराको फेवातालमा सोमबार सम्पन्न भएको दोश्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस (प्रतियोगिता) मा सबै उपाधि चिनिया टोलीले जितेको छ । आइतबार देखि पोखरामा संचालन भएको २ सय मिटर र ५ सय मिटर तर्फको रेस प्रतियोगितामा सबै उपाधि चिनिया टोलीले जितेको हो ।

फेवातालमा आज (सोमबार) सम्पन्न २०० र ५०० मिटर फाइनल चरणको रेसमा चिनको डोङग्वान लाओयू क्लबले दोहोरो उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ । लाओयू क्लवले दोहोरो उपाधिको साथमा १० हजार अमेरिकी डलर प्राप्त गरेको छ । डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दुरी ००ः४७ः७२० मिली सेकेण्डमा पार गर्दै प्रथम भएको हो भने ५०० मिटर तर्फ समेत २ मिनेट ०४ः४७ सेकेण्डमा दुरी पार गर्दै प्रथम भएको हो ।
त्यस्तै २०० मिटर तर्फ निर्धारित दुरी ००ः४८ः२२० मिली सेकेण्डमा पार गर्दै चिनकै युनान मिन्जु युनिभर्सिटी टिमको समुह भने दोस्रो भयो भने निर्धारित दुरी ००ः५०ः८३० मिली सेकेण्डमा पार गरेको चिनकै लिआओचिङ यूनिभर्सिटीको समुह तेस्रो भएको छ । त्यस्तै सोही स्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालय भने ००ः५१ः१६० मिलि सेकेण्डमा निर्धारित दुरी पार गर्दै चौथो स्थानमा आउन सफल भयो ।
यस्तै ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटीको समुह दोस्रो भएको छ । चेङ युनिभर्सिटीले निर्धारित दुरी २ मिनेट ७.३४ सेकेण्डमा पार गर्दै दोश्रो भयो भने निर्धारित दुरी २ मिनेट ८.४४ सेकेण्डमा पार गरी हान युनिभर्सिटी टिम तेस्रो भएको छ ।
प्रतियोगितामा पाँच सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले. २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने अन्य सहभागि टिमहरुलाई जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले पोखरा क्लिकलाई जनाएको छ ।
प्रतियोगितामा नेपालको ११, चीनको ८ र सिङ्गापुरको १ गरी २० टीमको सहभागीता रहेको थियो । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल ¥याफ्टिङ एजेन्सिज एसोसिएसन (नारा) सहित ११ टोलीको सहभागिता थियो ।
विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल स्थित चिनिया राजदुत छेन सोङ, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा सहभागि हुन चिनको सिचुवानको विमानले चार्टर्ड गरी खेलाडी सहित १ सय २९ जना चिनियाँ टोली सोझै पोखरा आएको थियो । महोत्सवको रुपमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस २०२४ सम्पन्न भए संगै कार्यक्रमले नेपाल र छिमेकी चीनबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई बलियो बनाउन र नेपालको पर्यटन प्रवद्र्धन गर्ने मेयर आचार्यले जनाउनु भयो ।