
दीननाथ बराल,
पोखरा १४, पुष,
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटीलाई कार्वाही गर्नेे बताए । आइतबार पोखराका केही पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले राज्यको नियम र कानून पालना नगर्ने कमिटि तथा व्यक्तिहरुलाई कार्वाही गर्ने बताए ।
तीन दिनको स्पष्टीकरण माग गरेको बताउदै मन्त्री चौधरीले कस्तो जफाव आउछ त्यसको आधारमा कार्वाही प्रकृया अघि बढाउने जनाए । २७ वटा संघहरु मध्यबाट २० वटाले अनलाइन मार्फत भोटिङ गरेको बताउदै मन्त्री चौधरीले प्रधानमन्त्री सहित विज्ञसंगको सल्लाहमा कार्वाही प्रकृया अघि बढ्ने उल्लेख गरे । सर्वोच्च अदालतको आदेश र सरकारको निर्देशनविपरीत नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार निर्वाचन गरेको थियो । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै शनिबार तय भएको निर्वाचन नगर्न आदेश दिएको थियो भने एनओसी नेतृत्वले अनलाइनमार्फत निर्वाचन गरेको थियो । निर्वाचन रोक्न सर्वोच्च अदालतको आदेशसँगै निर्वाचनमा सहभागी नहुन युवा तथा खेलकुद मन्त्रालयले समेत निर्देशन जारी गरेको थियो ।
अवैधानिक तरिकाले विधान संशोधन गरेर घोषणा गरेको चुनावमा आफू अनुकूलका प्रतिनिधि छनोट गरेर नेपाल ओलम्पिक कमिटीले शनिबार अनलाइनमार्फत निर्वाचन सम्पन्न गरेको आरोप अर्को समूहले लगाएको छ । अनलाइन चुनावबाट जीवनराम श्रेष्ठ फेरि अध्यक्ष बनेको घोषणा गरिएको थियो ।






