
दीननाथ बराल,
पोखरा १४, पुष,
सुन्दर नगरी पोखरामा आज (आइतबार) देखि दोश्रो संस्करणको ‘ड्रागन बोट रेस फेस्टिभल’ को सुरु हुदैछ । भोलि (सोमबार) सम्म पोखराको फेवातालमा हुने उक्त फेष्टिभलको आज एक समारोहका बिच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु हुने भएको छ ।
उक्त कार्यक्रममा नेपाल स्थित चिनिया राजदुत छेन सोङ सहितका अन्य अतिथिहरुको सहभागिता हुने भएको पोखरा महानगरपालिकाका व्यवसायी प्रबद्र्धन केन्द्रका महाशाखा प्रमुख नवराज अधिकारीले पोखराक्लिकलाई बताउनु भयो ।
मुख्य आकर्षणको रुपमा रहेको ड्रागन बोट रेस(प्रतियोगिता) मा नेपाल सहित ३ देशका २० टिमको सहभागिता रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनु भयो ।
उक्त रेस प्रतियोगितामा नेपालबाट ११ सहित सिंगापुरको एक र चिनका ८ टिमको सहभागिता हुने भएको उहाँले जनाउनु भयो । नेपाल र चीन बीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्न मद्धत पुग्ने गरी उक्त महोत्सव पोखरामा दोश्रो पटक गर्न लागिएको मेयर आचार्यले जनाउनु भयो ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको सयुक्त आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा गण्डकी सहित बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लव, ड्रगन बोर्ट गण्डकी, बेगनास टिम, रुपाताल टिम, नाराका सहितका नेपालका ११ टिमको सहभागिता हुने भएको हो ।
५ सय र २ सय मिटरका बिजेता टीमलाई जनही ५ हजार अमेरिकी डलर, उपबिजेतालाई भने २ हजार डलर र तेश्रो हुने टिमलाई जनही १ हजार २ सय अमेरिकी डलर साथमा ट्रफी र मेडल प्रमाण पत्र वितरण गरिने भएको छ । पुरस्कारमा मात्र करिब २५ लाख खर्च हुने भएको छ । उक्त प्रतियोगितामा सहभागि हुन चिनबाट खेलाडी सहित अफिसियलको १ सय २९ जनाको टोली सिचुवान विमानबाट चार्टर्ड गरी पोखरा आई सक्नु भएको छ ।