
दीननाथ बराल,
पोखरा, १२ पुष,
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउन पहल गर्ने बताउनु भएको छ । रेवान पोखराको आयोजनामा पोखरामा आज (शनिबार) देखि सुरु भएको २६ औँ संस्करणको पोखरा सडक महोत्सव २०८१ को उद्घाटन गर्दै मन्त्री गुरुङले पर्यटनको राजधानि पोखरामा शिक्षा, स्वास्थ्य र खेलकुदको सम्भावना भएकोले त्यसको केन्द्र बनाउन पहल गर्दै आएको बताउनु भएको हो ।
यस अभियानलाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यक भएको बताउदै यसमा आफु लागि रहेको उहाँले जनाउनु भयो । पोखरालाई पर्यटनको मात्र नभई अब शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बनाउदै पोखरा र पोखरा आसपास क्षेत्रको समग्र विकास गर्नुपर्ने उहाँले बताउनु भयो ।
पोखरामा वातावरणको हिसावले पनि यहाँ डाटा सेन्टर बनाउनु उपयुक्त हुने उहाँले बताउनु भयो । पोखरामा डाटा सेन्टर बनाउन उपयुक्त हुने तर्क सहित उहाँले तराई क्षेत्रमा डाटा सेन्टर बनाउदा गर्मी महिनामा एसि जडानको लागि करोडौ रुपैया बिद्युतमा खर्च हुने उहाँले बताउनु भयो । वुटवलमा राजनीतिक पहुचले गर्दा डाटा सेन्टर स्थापना देखि धेरै कुरा गर्ने चर्चा भए पनि आफुले पोखरामा डाटा सेन्टर बनाउन पहल तथा प्रयत्न गर्ने मन्त्री गुरुङले जनाउनु भयो । भूकम्पको दृष्टिले पहाडी भेगमा जोखिम भएको तर्क दिदै तराई क्षेत्रमा डाटा सेन्टर स्थापना गर्न खोज्नु उपयुक्त तर्क नभएको उहाँको भनाई थियो ।
उहाँले भन्नु भयो“ कुनै दिन एउटा मात्र डाटा सेन्टरमा भर पर्दा देशमा ठुलो समस्या आउन सक्छ, विमानस्थलहरु बन्द हुन्छ, कार्यालय बन्द हुन्छ, त्यस कारण त्यसको विकल्पमा दुई वटा डाटा सेन्टर स्थापना गर्नु पर्छ, त्यसमा हामी लागि रहेका छौं ।”पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थल संचालनको लागि रोजगारको लागि विदेश जानेहरुको देखि विदेश जानेहरु नेपाली सहित विदेशीहरुको राहदानी यहीबाट वितरण गर्ने कार्यालयहरु स्थापन गर्नु पर्ने मन्त्री गुरुङले जनाउनु भयो । मेडिकल परिक्षण गर्ने देखि अन्य कामहरु पोखरा र भैरहवाबाटै हुनु पर्ने बताउदै मन्त्री गुरुङले श्रम रोजगार तथा समाजिक मन्त्रालयको कार्यालयहरु पोखरामा स्थापना गर्न सुझाव दिनु भयो ।
नागरिक उड्डयन प्राधिकरणले आफ्नो माताहातमा रहेका कार्यालयहरुलाई कसरी परिचालन गर्ने भन्ने योजना बनाउन उहाँले आग्रह गर्नु भयो । प्राधिकरणले कुन देशबाट कति यात्रु ल्याउने ओसार पोसार गर्ने हो त्यसको बारेमा गृहकार्य गरी समयमै बन्नु पर्ने मन्त्री गुरुङले बताउनु भयो । आफ्नै मौलिकपन भएको धेरै मानिसहरुको भिडभाड हुने सडक महोत्सवको अवसरमा अन्य महोत्सवहरु एकै मितिमा नपार्न उहाँले सुझाव दिनु भयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योग र पर्यटन व्यावसायको मर्कामा परेकोले उनीहरुको राहातको लागि व्याज दर घटाउन पहल गर्ने बताउनु भयो । प्रदेशको पर्यटन विकासको लागि नयाँ ढंगबाट अघि बढ्ने योजना रहेको उहाँले जनाउनु भयो । गण्डकी प्रदेशका कृषि, भूमि व्यबस्थापन तथा तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले ६० प्रतिशत कृषि प्रधान देशमा कृषि पर्यटनबाट देशको आर्थिक विकास र समृद्धि हासिल हुने गरी काम गर्नुपर्ने बताउनु भयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवातालमा ढल मिसाउने १९ जना माथि कार्वाही गर्ने चेतावनी दिएका दिनु भयो । फेवाताललाई दुषित जो कोहीलाई महानगरले नछाड्ने उनले बताए । नयाँ परियोजनामा मुद्दा मामिला भएको मेयर आचार्यले गुनासो गर्नुभयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले पोखराको लाईफ लाईन पोखरा विमानस्थल भएकोले अन्ताष्ट्रिय हवाई उडान नियमित संचालन गर्न माग गर्नु भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शान्ति सुरक्षामा ढुक्क भएर महोत्सवमा सहभागी हुन आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले सडक महोत्सव क्यालेन्डर बनायर अन्य संघ संस्थाले आयोजना गर्ने मेला महोत्सव संग नजुधाउन आग्रह गर्नुभयोे । रेवानका केन्द्रिय अध्यक्ष सघर्ष विष्टले पोखरा आउने सडकको पहुच सहज बनाउन माग गर्नु भयो ।
रेवान पोखराका सल्लाहकार संयोजक गणेशबहादुर भट्टराईले यही सिजनमा अन्य प्रतियोगिता र महोत्सव पार्न नहुने बताउदै पुनः यस्तै गरेमा आगामी बर्षमा सडक महोत्सव स्थगित गर्नुपर्ने अबस्था आउने उल्लेख गर्नु भयो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले छिमेकी मुलुकबाट भ्रमणमा निसकने केही प्रतिशत मात्र पर्यटक नेपाल आए पनि नेपालको पर्यटनबाटै आर्थिक विकास हुने दाबी गर्नुभयो ।
उक्त अवसरमा टेनिस खेलको माध्यमबाट पोखराको खेल पर्यटनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै रेवान पोखराले कास्की जिल्ला टेनिस संघका पूर्व अध्यक्ष विनोद कायस्थलाई सम्मान गरिएको थियो । यही पुष १७ गतेसम्म पोखराको लेकसाइडमा संचालन हुने महोत्सव पोखरा लेकसाइडको ४ किलोमिटर क्षेत्रमा विभिन्न प्रकारका खाना, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने भएको महोत्सव संयोजक विकास भट्टराईले बताउनु भयो । महोत्सवको उद्घाटन् हुनु पूर्व अवसरमा पर्यटन सम्बद्ध विभिन्न संघसंस्था सहित क्लव, आमा समुह लगायतको उपस्थितीमा साँस्कृतीक झाँकी सहित ¥याली प्रर्दशन भएको आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलले बताउनु भयो ।
सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरुको चम्चा दौड, डुङ्गा दौड लगायत कार्यक्रम हुने भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिनुभयो । त्यसैगरि अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारी सहितको सडक सम्वाद कार्यक्रम हुने रेवान पोखराका उपाध्यक्ष बसन्त गौतमले बताउनु भयो । यसपाली देखि महात्सव स्थल बढाईसंगै करिब ४ कलिोमिटर क्षेत्रमा धोजा पतका र तुल व्यानरहरु राखिएको रेवान पोखराले पोखरा क्लिकलाई जनाएको छ ।
महोत्सवको अवसरमा होटल आवासमा २० प्रतिशत छुट र रेष्टुरेण्टहरुमा केही छुटको व्यबस्था गरिएको स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलले बताउनु भयो । यसपालीको महोत्सवमा ५ लाख भन्दा बढी दर्शक भित्राउने लक्ष्य राखेको महोत्सवका प्रचार प्रसार समिति संयोजक बीरेन्द्र शेरचनले बताउनु भयो ।