
दीननाथ बराल,
पोखरा ७, पुष,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरिएको छ । उक्त मुद्धा दायर गरेसंगै उहाँको सवारी साधन सहितको सम्पत्ति जफतको लागि माग गरिएको छ ।
साथै सभापति लामिछानेकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको छ । सम्पत्ति जफत प्रयोजनकै लागि सरकारी वकिलले उनकी श्रीमती निकिता पौडेललाई पनि प्रतिवादी बनाएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका लामिछाने गत कार्तिक २ गते देखि प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनु भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारी तर्फ सो रकम बिगो दाबी गरिएको हो । सभापति लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ । त्यसै गरी सहकारीतर्फ जम्मा १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको सरकारी वकिलको कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा गोर्खा मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक छविलाल जोशीमाथि ५ करोड २६ लाख ६५ हजार बिगो दाबी गरिएको छ भने पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ ।
सभापति लामिछाने सहित उक्त सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा छविलाल जोशी, रामबहादुर खनाल र लीला पछाइ विरुद्ध सम्पत्ति शुद्धीकरणमा आइतबतार मुद्दा दायर गरिएको होे । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिको कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।
सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको माग सहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछाने सहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि आइतबार नै मुद्दा दर्ता भएको हो । सहकारी ठगी मुद्दामा पनि लामिछाने सहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो । सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । जस मभ्य १४ जना प्रहरीको नियन्त्रणमा रहेका छन भने अन्य प्रहरीले खोजि गर्दै छ ।
सांसद पद …
रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद् सचिवालयमा पुगेको छ । सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको पत्रमा उल्लेख भएको श्रोतको भनाई छ ।
सहकारी ऐन २०७४, संगठित अपराध (निवारण) ऐन, २०७०, सम्पत्ति शुद्धीकरण ऐन, २०६४ र मुलुकी अपराध संहिता २०७४ को एकीकृत कसुर अनुसारको सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो । संगठित अपराध (निवारण) ऐन, २०७० को दफा ३ अनुसार कसुर गरेको आरोप रवि माथि छ । उक्त दफा अनुसार संगठित अपराध गर्न नहुने उल्लेख गरिएको छ । यसमा तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुर मानिएको छ। त्यस्तै दफा ५ अनुसार आपराधिक समूह स्थापना गर्न नहुने भनिएकोमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्मको जरिवाना हुने उल्लेख छ ।