माघ १२ गते देखि पोखरामा टाईगर कप भलिवल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     पौष ६ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ६, पुष,

पाचौं सस्करणको टाईगर कप राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरको क्लव स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८१ आउँदो माघ दोश्रो हप्तामा पोखरामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको शनिबार पोखरामा सम्पन्न भएको तेस्रो साधारण सभाको अवसरमा बोल्दै संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले उक्त प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुने भएको बताउनु भएको हो ।

पोखरामा खेल पर्यटनको प्रबद्र्धन गर्दै खेलाडी उतपादन गर्ने उद्धेश्यले उक्त प्रतियोगिता यस बर्ष माघमा हुने आन्तरिक तयारी सुरु भएको उहाँले जनाउनु भयो ।

पोखरा रंगशालामा सम्पन्न भएको तेस्रो साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले पोखरामा धेरै खेलको अथाह सम्भावना भएको बताउनु भयो । टाईगर कपको लाई यस बर्ष मन्त्रालयले १० लाख रुपैया रातो कितावमै उल्लेख गरेको बताउदै उहाँले खेलाडीको उर्भर भूमिमा यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा थप मद्धत पुग्ने विश्वास व्यक्त गर्नु भयो । पोखरामा वातावरण, मौसम, खेलकुदको भावना बुझ्ने खेलकुदकर्मी भएकोले पोखरामा खेलकुदको सम्भावना रहेको मन्त्री थापाको दाबी थियो ।

संस्थाका महासचिव एवं गण्डकी प्रदेशमा सांसद प्रकाश बरालले संस्थाले समाजमा उदाहरणिय कार्य गर्दै आएकोले संस्थाको साख जोगाउने गरी आगामी दिनमा उत्कृष्ट ढंगले प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनु भयो । प्रदेश सांसद लिल बहादुर थापाले खेलको जस्तो नियम नेपाली राजनीतिमा हुनुपर्ने बताउनु भयो । पूर्व प्रदेश सांसद राजिव पहारीले पोखराको फेवाताल फेवा पोखरीमा परिणत हुदै गएको बताउनु भयो ।

संस्थाले १५ वटा बैठक बसि विभिन्न सामाजिक कार्य गर्दै आएको सचिव डि.बी.नेपालीले बताउनु भयो । दीपक कार्कीको संयोजकत्वमा सम्पन्न भएको चौथो टाइगर कप २०८० बाट १८ लाख ३७ हजार ४ सय ६४ रुपैया बचत गर्न सफल भएको कोषाध्यक्ष हरि कुमार श्रेष्ठले बताउनु भयो ।