कृषि क्षेत्रको व्यवसायीकरणले नै हाम्रो दिगो विकासको सपनालाई साकार बनाउन सक्छः पूर्वराष्ट्रपति भण्डारी

-


     पोखरा क्लिक     
     पौष ४ गते २०८१ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ४, पुष,

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आन्तरिक उत्पादनको श्रृङ्खला बढाई त्यसबाट उठ्ने राजस्व, स्वदेशी उद्योगको स्थापनाले दिने रोजगारी र आन्तरिक माग पूरा गरी गरिने निर्यात तथा नेपालको अर्थतन्त्रको मेरूदण्ड मानिने कृषि क्षेत्रको व्यवसायीकरणले नै हाम्रो दिगो विकासको सपनालाई साकार बनाउन सक्ने बताउनु भएको छ । त्रिभुवन विश्व विद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखरामा आज(विहिबार) देखि सुरु भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

कार्बन उत्सर्जनकर्ता विकसित र औद्योगिक मुलुकहरूले नै जलवायु संकटको जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिदै जलवायु न्यायका लागि प्रदूषण गर्न कुनै योगदान नभएका राष्ट्रहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्नु भएको छ । जलवायु न्यायका लागि प्रदूषण गर्न कुनै योगदान नभएका राष्ट्रहरूलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताउनु भएको छ । जलवायु जोखिममा रहेका देशहरूलाई अनुकूलनका लागि हानी तथा नोक्सानीको क्षतिपूर्ति वापत बिना शर्त वित्तीय स्रोत र प्रविधि उपलब्ध गराउनुपर्ने बताउदै पूर्वराष्ट्रपति भण्डारीले आजको अन्तरनिर्भर विश्व व्यवस्थामा कुनै पनि राष्ट्र जतिसुकै सम्पन्न भए पनि पूर्ण रूपमा आत्मनिर्भर बन्न नसक्ने दाबी गर्नु भयो । विश्वमा अपनाइएका सफल, उदाहरणीय तथा उपयुक्त विकास अभ्यासबाट हामीले सकारात्मक पाठ सिक्नु पर्नेमा जोड दिदै उहाँले निकट विगतको ठूलो राजनीतिक परिवर्तन पश्चात भने अब मुलुक आर्थिक–सामाजिक विकासतर्फ अग्रसर हुने परिस्थिति निर्माण भएको उल्लेख गर्नु भयो ।

हाम्रो विकास प्रक्रियालाई तीव्रता दिइरहँदा विश्वव्यापि तापमान वृद्धिका कारण उत्पन्न जलवायु परिवर्तनले ल्याएका नकारात्मक प्रभावलाई न्यूनीकरण र जलवायु अनुकूलनका लागि विभिन्न तहमा तर्जुमा भएका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्न जरुरी रहेको उहाँको भनाई थियो । विश्वयुद्धमा जर्जर भएको जापानको लोभलाग्दो आर्थिक उन्नतिपछि दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, भियतनाम लगायतले हासिल गरेको आर्थिक फड्को अन्य धेरै मुलकहरूका लागि अनुकरणीय बनेको उहाँको तर्क थियो । यस मुलुकले सक्षम कर्मचारीतन्त्र, व्यापार र उत्पादनमा सन्तुलन, समुचित आवास र स्वास्थ्य प्रणाली, करको न्यूनीकरण तथा व्यवधानहीन व्यापार प्रवर्द्धनको समिश्रणको माध्यमबाट कसरी दूत तर विकास गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण प्रस्तुत गरेको पूर्वराष्ट्रपति भण्डारीले जनाउनु भयो ।

प्रारम्भमा कृषि, उद्योग, प्रतिरक्षा र विज्ञान तथा प्रविधि गरी चार क्षेत्रको आधुनिकीकरण गर्ने उद्देश्यले अघि बढेको चीनले छोटो समयमै गरिबीको रेखामुनि रहेका ठूलो जनसङ्ख्यालाई गरिबीबाट मुक्त मात्र नगरी देशको अर्थतन्त्रमा आमूल परिवर्तन गरी विश्वको प्रमुख अर्थतन्त्र, उत्पादक राष्ट्र तथा प्रविधि, उद्योग र पूँजीको केन्द्रविन्दु बन्न पुगेको उहाँको भनाई थियो । वर्तमान विश्वमा विनाशकारी हतियारको उत्पादन र प्रयोगले एकातिर सघन रूपमा पर्यावरण विनाशमा भूमिका खेलिरहेको छ भने अर्कोतिर सामाजिक–आर्थिक विकासमा गर्नुपर्ने लगानी खेर गइराखेको पूर्वराष्ट्रपति भण्डारीले चिन्त्ता व्यक्त गर्नू भयो । यसैगरी, रुस–युक्रेन युद्धबाट सिर्जित मानवीय पीडा र त्रासदीको बारेमा पनि हामी गम्भिर रूपमा चिन्तित भएको पूर्वराष्ट्रपति भण्डारीले जनाउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल स्थित चिनिया राजदुत चेन सोङले सबै देशको आर्थिक विकासको लागि सामुहिक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । आफुहरुको स्वार्थ भन्दा सामुहिक हितमा काम गर्न खोजेको बताउदै उहाँले भू राजनीतिकले चिन्त्ताको बिषय बनेको जनाउनु भयो ।

दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा फेवा संवाद (डाईलक) सुरु भएको त्रिभुवन विश्व बिद्यालयका डा.रेक्टर खड्ग केसीले बताउनु भयो ।

फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आंकाक्षामा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको त्रिभुवन विश्व बिद्यालयका डा.रेक्टर खड्का केसीले बताउनु भयो । उक्त कार्यक्रममा विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुन सक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रीय हुने उहाँले जनाउनु भयो । उक्त कार्यक्रममा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३÷ ३ जना, भुटान, मलेसिया, सिंगापुर, इण्डोनेसिया लगायतका देशवाट सहभागी हुने कार्यक्रम तय गरिएको डा.रेक्टर केसीले जनाउनु भयो ।

सम्मेलनमा पूर्वमन्त्रीहरु कमल थापा, डा. युवराज खतिवडा, प्रदिपकुमार ज्ञवाली, डा. प्रकाशशरण महत लगायत प्रतिष्ठित राजनीतिज्ञहरु, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. दिपेन्द्र बहादुर क्षेत्री डा. गोविन्दराज पोखरेल, डा. विश्व पौडेल, पूर्वराजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरु, लगायतका विज्ञहरुको सहभागिता रहेको छ ।

चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजमा नेपाल अध्ययन केन्द्रका उपनिर्देशक डा.गाओ लियाङले दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको बिकास र समृद्धिको बारेमा आम जनतालाई बुझाउने उक्त कार्यक्रम राम्रो प्लेट फम हुने बताउनु भयो । त्रिभुवन विश्व बिद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बरालको अध्यक्षतामा उद्घाटन सत्र समापन भएको हो ।