
दीननाथ बराल,
पोखरा ३, पुष,
त्रिभुवन विश्व विद्यालय र चीनको सिचुआन विश्वविद्यालयको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा भोलि देखि फेवा संवाद (डाईलक) सुरु हुने भएको छ । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको सहकार्यलाई थप प्रगाढ बनाउने, अन्तर आवद्धतालाई अवसरमा रुपान्तरण गर्ने, प्रविधि र विकासको साझेदारी अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा भोलि (विहिबार) देखि उक्त कार्यक्रम हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
फेवा संवाद मार्फत विश्वका प्रभावशाली मुलुकसँग सहकार्य गरी ’समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आंकाक्षामा महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको त्रिभुवन विश्व बिद्यालयका प्रा.डा.रेक्टर खड्ग केसीले बताउनु भयो । उक्त कार्यक्रममा विषय विज्ञता र अनुभव साटासाट गर्ने र भविष्यमा हुन सक्ने आर्थिक, सामाजिक र शैक्षिक सहकार्यहरुमा केन्द्रीय हुने उहाँले जनाउनु भयो । उक्त कार्यक्रममा चीनका ३०, नेपालबाट २०, भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट ३÷ ३ जना, भुटान, मलेसिया, सिंगापुर, इण्डोनेसिया लगायतका देशवाट सहभागी हुने कार्यक्रम तय गरिएको प्रा.डा.रेक्टर केसीले जनाउनु भयो ।
सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, पूर्वमन्त्रीहरु कमल थापा, डा. युवराज खतिवडा, प्रदिपकुमार ज्ञवाली, डा. प्रकाशशरण महत लगायत प्रतिष्ठित राजनीतिज्ञहरु, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु डा. दिपेन्द्र बहादुर क्षेत्री डा. गोविन्दराज पोखरेल, डा. विश्व पौडेल, पूर्वराजदुतहरु, विश्वविद्यालयका प्राध्यापकहरु, लगायतका विज्ञहरुको सहभागिता हुने भएको छ ।
पत्रकार सम्मेलनमा चीनको सिचुवान विश्वविद्यालय अन्तर्गतको चाइना सेन्टर फर साउथ एसियन स्टडिजमा नेपाल अध्ययन केन्द्रका उपनिर्देशक डा.गाओ लियाङले पर्यटनको राजधानि र विश्वकै चर्चीत शहर र फेवातालमा उक्त कार्यक्रम त्रिभुवन विश्व बिद्यालयसंग सहकार्य गरी गर्न पाउदा निकै खुसि लागेको बताउनु भयो । दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकहरुको बिकास र समृद्धिको बारेमा आम जनतालाई बुझाउने उक्त कार्यक्रम राम्रो प्लेट फम हुने उहाँको दाबी गर्नु भयो । उक्त कार्यक्रमको उद्घाटन भने विहिबार बिहान पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने भएको छ ।
नेपालको ७६ वटा जिल्लामा विस्तारित त्रिभुवन विश्वविद्यालयले विश्वका करिव १८२ वटा विश्वविद्यालयहरुसँग शैक्षिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक सहकार्य गर्दै आइरहेको छ । उच्च शिक्षामा मार्फत देशलाई आवश्यक दक्ष जनशक्ति उत्पादनमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको यस विश्वविद्यालयले आफ्ना निकटतम मित्र राष्ट्रहरुका विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक संस्थानहरुसँगको सहकार्यलाई विशेष प्राथमिकता दिई संयुक्त अनुसन्धान परियोजना सञ्चालन, शिक्षक विद्यार्थीहरुको आदान प्रदान र विविध विषयमा संयुक्त अन्तरराष्ट्रीय सम्मेलन मार्फत शैक्षिक अनुभव एवम् विशेषज्ञताको आदान प्रदान गर्दै आइरहेको डा.केसीले जनाउनु भयो । नेपाली करिब १ सय ८० जना बिद्यार्थीहरुले पहिलो सेमेस्टोरमा सिचुवाङ विश्व बिद्यालयमा अध्ययन गर्ने मौका पाएको उहाँले जनाउनु भयो ।





