पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता प्रज्वललाई ग्रस र थमेशलाई नेट तर्फको उपाधि

-


     पोखरा क्लिक     
     मंसिर २९ गते २०८१ मा प्रकाशित


पोखरा २९, मंसिर,

चौथो होलमा होल ईन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रस तर्फको उपाधि जितेका छन् । नेट तर्फका उपाधि भने थमेश राईले जितेका छन् ।

कास्की जिल्ला गल्फ संघको आयोजनामा पार ६९को पोखरा १४ स्थित हिमालयन गल्फ क्लबमा शनिबार प्रतिस्पर्धामा पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोरसहित उपाधिसहित नगद पुरस्कार प्राप्त गरे । उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे ।

ग्रस तर्फ काठमाडौं गोकर्ण गल्फ क्लबका नोर्बु शेर्पा उपविजेता बने । उनले ३२ स्कोर गरे । उनलाई काउण्ट व्याकको नतिजाले साथ दियो । त्यस्तै नेट तर्फ थमेशले ३५ स्कोर सहित उपाधि जित्दा ३४ स्कोर गरेको निल थापा दोस्रो र ३३ स्कोरसहित पासाङ शेर्पा तेस्रो बने । उनीहरुले नगद स्वरुप २०, १५ र १० हजार प्राप्त गरे । महिला तर्फको प्रतिस्पर्धाको उपाधि जान्भी गुरुङले प्राप्त गरिन् । जुनियर तर्फको पुरस्कार डानियल बानियाँले पाउँदा सबैभन्दा पाका गल्फरको पुरस्कार भने मेजर लछिमीप्रसाद गुरुङले प्राप्त गरेका थिए ।

टिम इेभण्ट(बेटर बल)को पुरस्कार प्रज्वल गुरुङ र दिप्सन लामाको जोडीले १० अण्डर ५९ को स्कोरसहित उपाधि जिते । उनीहरुले नगद ५० हजार प्राप्त गरे । त्यसैगरी कृष्ण पुन र बालकासी गुरुङको टिम काउण्ट व्याकमा दुई अण्डर ६७ स्कोरसहित उपविजेता बन्यो । ऋषिकेस सेन र श्याम सुब्बा भने समान २ अण्डर ६७ स्कोरसहित तेस्रो स्थानमा रहे । उनीहरुलाई पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा लङगेष्ट ड्राईभको पुरस्कार सुरेन्द्र फुयाँल र क्लोजेष्ट टु दि पीनको पुरस्कार भक्तराज गुरुङले प्राप्त गरे । विजेता गल्फरहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, मुख्य प्रायोजक प्रभु बैंकका मेनेजर सामथ्र्य उप्रेती लगायतले ट्रफी तथा नगद पुरस्कार प्रदान गरेका थिए । टिम तर्फ २९ र खुल्ला तर्फ ५७ गल्फरको सहभागिता रहेको थियो ।

कास्की जिल्ला गल्फ संघ पुनर्गठनपछि पहिलो पटक पोखरामा एमेच्योर गल्फ प्रतियोगिता आयोजना गरिएको थियो । नेपालमा सन १९१७ देखि गल्फको थालनी शुरु भएको थियो । सन १९८६ मा अन्तराष्ट्रिय मापदण्ड अनुसारको ९ होलको रोयल नेपाल गल्फ कोर्षको स्थापना पछि व्यवसायिकता तर्फ अग्रसर इतिहास छ ।

पोखरामा सन १९९४ मा छिनेडाडाँस्थित हिमालयन गल्फ क्लबको स्थापनापछि शुरुवात भएको हो । पार ६९ को १८ होलको कोर्ष बनेपछि पोखरामा गल्फ बामे सर्न थालेको हो । विश्वकै युनिक कोर्षभित्र पाँचौ स्थानमा पर्छ । विश्वको १०० औं गल्फ कोर्षमा पोखराको हिमालयन गल्फ कोर्ष एशिया प्यासफिक क्षेत्रमा २३ औं स्थानमा पर्छ । । राष्ट्रिय प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजना हुने यस प्रतियोगितालाई तयारीको रुपमा लिइएको कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले बताए ।

प्रतियोगितालाई प्रभु बैंकले मुख्य प्रायोजन र अटोवेज प्रालिले सह प्रायोजन गरेको थियो । प्रतियोगितालाई सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, प्रदेश खेलकुद परिषदको विशेष सहयोग रहेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक भूमिका छ भने जिल्ला खेलकुद विकास समिति, नेपाल गल्फ संघ, प्रदेश गल्फ संघ र हिमालयन गल्फ क्लबले सहयोग गरेका थिए ।