पश्चिमाञ्चल माविमा प्रतिभा प्रस्फुटन कार्यक्रम

-


     पोखरा क्लिक     
     मंसिर २८ गते २०८१ मा प्रकाशित


पोखरा, मंसिर २८,

पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरेको छ । उक्त अवसरमा रक्तदान र प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । शुक्रबार भएको रक्तदानमा ४१ यूनिट रगत संकलन भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्मा पौडेलले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए । त्यसैगरि विद्यालयले उक्त अवसरमा प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीमा भएको प्रतिभालाई बाहिर ल्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । आचार्यले प्रतिभा प्रस्फुटनमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरेका थिए ।

कार्यक्रममा पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीको विद्यार्थी क्षमता बाहिर ल्याउन हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताए । भविश्यमा पनि थप कार्यक्रम गर्ने उनले बताए । विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीभित्र लुकेको खुबी बाहिर ल्याउनका लागि कुन कसर बाँकी नराख्ने पनि बताए । विद्यार्थीका हौसलाका लागि किताबी ज्ञान बाहेक प्रतिभा प्रस्फुटन कार्यक्रम पनि गर्नुपर्ने उनले बताए ।

त्यस्तै सह प्राचार्य मिनु श्रेष्ठ कुँवरले एउटा शैक्षिक संस्था ३३ वर्ष पुरा गर्न आफैमा इतिहास रहेको बताईन । उनले ३३ वर्षमा हजारौं विद्यार्थीलाई भविश्यको बाटो देखाउन सफल भएको पनि बताईन । विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले जो कोही विद्यार्थीमा पनि अनुशासन आवश्यक रहेको बताए । उक्त कार्यक्रममा अघिल्लो वर्ष राष्ट्रिय परीक्षा बोर्डले दिएका परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिभा प्रस्फुटन कार्यक्रममा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीले प्रतिभा देखाएका थिए । रक्तदान कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप इन्चार्ज आत्मराम अधिकारी र प्रतिभा प्रस्फुटन कार्यक्रमको सिनियर इन्चार्ज विजयराज अधिकारीले संचालन गरेका थिए । पश्चिमाञ्चल माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्यापन गराइन्छ । पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबार भएको प्रतिभा प्रस्फुटन कार्यक्रम प्रतिभा प्रस्तुत गर्दै विद्र्याी ।